विराटनगर । नेकपा एमाले विराटनगर महानगरको नयाँ नेतृत्वका लागि प्यानल प्रतिस्पर्धा हुने देखिएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरूले प्रयास जारी राखे पनि गुटका कारण महानगरमा पनि निर्वाचन हुने देखिएको हो । विराटनगर महानगरको दोस्रो अधिवेशन आज सुरु हुँदै छ । अधिवेशनको उद्घाटन नहुँदै प्यानल बनिसकेको छ ।

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा विनोद ढकालको समूह प्यानलै विजयी भएपछि महानगरमा पनि ढकाल समूह हौसिएको छ । सो समूहले बलराम गिरी ‘नवीन’को नेतृत्वमा प्यानल बनाएको छ । गिरी अहिले महानगर सचिव छन् । यस्तै संस्थापन समूहबाट भने रोहित कोइराला अध्यक्षका आकाङ्क्षी छन् । उनी अहिले अध्यक्ष छन् ।

मान गढ खानेपानीको निर्वाचनलाई लिएर सागर थापा लगायतलाई कारबाही भएपछि कोइरालालाई महानगर अध्यक्षको जिम्मेवारी दिइएको थियो । उनी पुन अध्यक्षका लागि दावेदारी गरिरहेका छन् । कोइरालाले आफ्ना समर्थक प्रतिनिधिसहित आफू निकट पार्टी नेतृत्वको उपस्थितिमा आइतबार विराटनगरमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
 
उनको समूहमा उपाध्यक्षमा राम पोख्रेलले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । उनी अहिले वडा नम्बर ८ का वडाध्यक्ष हुन् । यस्तै सचिवमा नवराज काफ्ले, उप सचिवमा कला डाँगी र चन्द्र शेखर विश्वासले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । यस्तै गिरीको प्यानलमा भने उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाईँ उप सचिवमा हमिद आजादलाई अघि सार्ने तयारी भएको छ । महिला उप सचिवको भने अझै टुङ्गो लागेको छैन । 

अधिवेशनमा १९ वडाबाट २ सय २० जना प्रतिनिधि छनोट भएका छन् ।  त्यस्तै जनसङ्गठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । थप १५ जना भने वर्तमान कमिटीले मनोनीत गर्ने छ । तर अहिले सम्म मनोनीत भने भइसकेका छैनन् । दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने  छ ।