सुनसरी । बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत्येक बर्ष बैशाख ३ गते कचना मन्दिरमा बैगुनको भार र फूलघडा चढाउने गरिन्छ । बैगुनको भार चढाउन अघिल्लो दिनको साँझ देखी नै भक्तजनहरु पूजाका लागि आएका थिए भने आज बिहान राती देखी नै भिड लागेको थियो ।
कचना मन्दिरमा बैगुनको भार र फूलघडा चढाए शरिरमा रहेका मुसा हराउने जनविश्वास रहेको छ । बैगुन चढाउदा खास गरी हात गोडामा आएको मुसा, घाउ खटिरा, छालाका अन्य विभिन्न रोगहरु हराएर जाने विश्वास रहेको छ ।
मानिसहरु शरीर स्वस्थ होस घाउ खटिरा, मुसा हटेर जाओस भनी भाकल गर्दछन् । सो भाकल पुरा भएपछि मन्दिरमा आएर बैगुनको भार,फूलघडा र पानसुपाडी चढाउँछन् ।
यहाँ बैगुनको भार चढाउन देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । पूजा गर्न आएका भक्तजनहरुलाई सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाएको कचना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोसन तामाङले जनकारी दिए ।
बिहानको समयमा धेरै भिड भएकाले लाईनमा लगाएर पूजा गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
तराईका आदिवासी थारु समुदायले भने यस मन्दिरलाई थानको रुपमा पूजा गर्दै आएका छन् । बैशाख १ गतेबाट सुरु हुने सिरुवा धामको रुपमा पूजा गर्दछन् ।
सिरुवा मेलामा आफ्ना पूर्वजहरुलाई सम्झिएर बैगुनको भार, फूलघडा, पानसुपारी चढाएर पूजा गरिने ग्रामथान संरक्षण समिति कोशी प्रदेशका अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
कचना थानमा ठुलो मेला लाग्ने गर्दछ । मेलाको मख्य आकर्षणको रुपमा जुलवी रहेको छ । मेलाबाट अन्नी धानको भूजा, जुलेवी, मिठाई खाने र कोशेलीको रुपमा घर लैजाने परम्परा रहेको छ ।