सुनसरी   । सुनसरीको धरान ६ पाँच कन्या जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकी आफ्नै श्रीमानको योजनामा हत्या भएको खुलेको छ। कोरियामा रहेका उनका श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आज जिल्ला प्रहरी कार्यालयले हत्याबारेमा पत्रकार सम्मेलन गर्दै घटनामा पारिवारिक संलग्नता रहेको जानकारी गराएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाले हत्यामा संलग्न रहेको आरोपमा छ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा मृतकका श्रीमान् प्रेमबहादुर बुढाथोकी लाई दक्षिण कोरियाबाट काठमाडौँ आए लगत्तै आज बिहान काठमाडौँ विमानस्थलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
त्यस्तै अन्य पक्राउ पर्नेहरूमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका प्रेमका भाइ ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती सृष्टि बुढाथोकी रहेका छन् त्यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ स्थायी घर भई उर्लाबारीमा बस्दै आएका योगेन्द्र गौतम र उनकी श्रीमती मिनु गौतमलाई समेत प्रहरीले पक्राउ गरी आजै सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न अर्का एक जना भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ। गत चैत २५ गते भएको घटनालाई लिएर प्रहरीले सबको पहिचान गर्न नै तीन दिन लागेको जनाएको छ यो घटना पारिवारिक विवाद र असन्तुष्टिका बिच जन्मिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।
हत्यामा संलग्न व्यक्तिहरू मृतकका श्रीमान् देवर देउरानी नन्द लगायत रहेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँच कन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन । प्रहरी स्रोतका अनुसार, चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुर्‍याएर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो । महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको प्रहरीले जनाएको छ ।
उनका श्रीमान् प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको अवस्थामा उनलाई प्रहरीले झिकाएको थियो। उनी नेपाल आए लगत्तै पक्राउ गरी पक्राउ परेका व्यक्तिको सन्दर्भमा प्रहरीले सार्वजनिक गरेको हो। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाएर बस्ने गर्थिन।