विराटनगर । महानगरपालिका वडा नम्बर ३ स्थित पोखरिया माध्यमिक विद्यालयमा शनिबार बिहान अभिभावकहरू विद्यालयमा पुगे । विद्यार्थीको भर्ना गर्नका लागि फर्म लिइसकेको विद्यालयले इन्ट्रान्स परीक्षा नलिएको भन्दै दुई तीन दिन अगाडिदेखि विद्यार्थीका अभिभावकहरूले विद्यालयलाई प्रवेश परीक्षा लिन दबाब दिँदै आएका थिए। त्यही दबाब थेग्न नसकेको विद्यालयले शनिबार बिहान ११ बजेदेखि प्रवेश परीक्षा लिने मिति तय गरेको थियो। त्यो बारेमा दुई दिन अगाडि नै सूचना सार्वजनिक भइसकेको थियो। अभिभावकहरु बिहान ९ बजे नै विद्यालयमा पुगिसकेका थिए। धनुषा, सप्तरी, सिराहा, इलाम पाँचथर टाढा टाढाबाट पुगेका अभिभावकहरु लाइन लागेर प्रवेश परीक्षा लिने तरखरमा थिए। त्यही क्रममा एकजना व्यक्ति मुखमा मास्क लगाउँदै विद्यालयमा प्रवेश गर्छन् । उनको हाउभाउ अस्वाभाविक देखेपछि कर्मचारीहरू तथा शिक्षकहरू झस्किन्छन् । उनको बारेमा सोधखोजी गर्दै जाने क्रममा उनले आफू शिक्षक महासंघबाट आएको भन्ने प्रतिक्रिया दिन्छन् । अनि बल्ल मास्क खोल्छन् र आफ्नो परिचय दिन्छन्। उनी थिए,आदर्श माध्यमिक विद्यालय विराटनगरकै सहायक प्रधानाध्यापक इन्द्र चौहान । चौहान आफू शिक्षक महासंघबाट आएको भन्दै भिडियो खिच्न थाल्छन्। उनलेे भिडियो खिचेको कसैलाई पनि मन परेको थिएन । कर्मचारी र अभिभावकहरू भिडियो नखिचि कुरा गर्न भन्छन् । उनी निरन्तर भिडियाे खिचिरहन्छन् । चाैहान भन्छन्, `सरकारले हाम्राे माग सुनेकाे छैन तपाईंहरू महासंघलाई नटेर्ने, तपाईंहरू तुरुन्त प्रवेश परीक्षा बन्द गर्नुस् नत्र अरू साथीहरूलाई बाेलाउछु ।´
अभिभावकहरुले प्रवेश परीक्षा जसरी पनि गर्नुपर्ने दबाब दिन्छ । उनी कुनै पनि हालतमा प्रवेश परीक्षा गर्नै नदिने गरी आफ्नो अडान दोहोर्याउँछन्। अरु शिक्षकहरूलाई पनि बोलाउने र परीक्षा नै हुन नदिने भन्दै उनले अडान लिँदै जान्छन्। अभिभावक र चौहानबीचको निकै भनाभनपछि पनि उनले भिडियो खिच्न छाड्दैनन्। अभिभावककै भिडियो खिच्छन् अनि विद्यालयका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पनि उसैगरी भनाइहरु रेकर्ड गरिरहेका हुन्छन् । शिक्षकले यसरी भिडियो खिचेको स्वाभाविक नभएको अभिभावकहरू बताउँदै थिए। उनले लगतै ८-१० जना शिक्षकलाई विद्यालयमा लिएर आउछन् । शिक्षक र अभिभावक विच घम्साघम्सी चल्छ, उनीहरूलाई प्रहरीले राेक्छ । त्यसपछि शिक्षकहरूलाई विद्यालय नर्सकाे कार्यकक्षमा राखेर छलफल हुन्छ । पाेखरियाले अरू स्कुलका शिक्षकहरूलाई काठमाडौं लगेर प्रवेश परीक्षा लिएकाे उनीहरूले बताए ।
कक्षा आठमा आफ्नो बच्चा भर्ना गर्न आएका सप्तरीका विनोद कुमार मण्डलले सूचना प्रकाशित गर्दा नबोलेको महासङ्घ अभिभावक र विद्यार्थीहरू प्रवेश परीक्षा लिन थालेपछि भाड्न खोज्नु शिक्षकहरूको अराजकता भएको बताए । महासङ्घका शिक्षकहरूले विधि र प्रक्रियामा चल्नुपर्नेमा हुलहुज्जत गर्न खोजिएको जस्तो देखिएको उनको भनाइ छ। `शिक्षकका मागहरू जायज छन् हाम्रो पनि समर्थन छ, उनले भने, `यसरी अभिभावक र विद्यार्थीहरू परीक्षा दिन आइसकेपछि भाडभैलो गर्न खोज्नु ठिक होइन।´
नयाँ शैक्षिक सत्रका लागि पोखरिया माध्यमिक विद्यालयमा प्रवेश परीक्षाका लागि २४३० जना विद्यार्थीले फर्म भरेका छन्। यसरी प्रवेश परीक्षाका लागि फर्म भर्ने विद्यार्थीहरू विराटनगरका मात्रै छैनन्। मधेस प्रदेशका अधिकांश जिल्ला र कोशी प्रदेशका पहाडी जिल्लाका समेत रहेको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले कर्मचारी आन्दोलनमा भएपनि विद्यालय व्यवस्थापन समितिले परीक्षा गराएको प्रतिक्रिया दिएका थिए। `हामीले कर्मचारी आन्दोलन गर्न पठाएका छौं अभिभावकको धेरै दबाब आएपछि प्रवेश परीक्षा मात्रै लिन खोजेका हौँ´, उनले भने, `अभिभावकलाई सहजताका लागि यो काम गरिरहेका छौं ।´
वैशाख ३ गतेलाई ताेकिएकाे प्रवेश परीक्षा ६ गतेलाई सारेको थियाे । त्याे बेला शिक्षक महासंघले विद्यालय खाेल्ने शिक्षकलाई कालाेमाेसाे दल्ने बताउँदै आएको थियाे । पाेखरिया माबिले केही निजी स्राेतका शिक्षकलाई प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिले प्रवेश परीक्षा शुरू गरेको छ ।