विराटनगर । विराटनगर महानगरपालिकामा सरुवा भएका राम चरित्र मेहतालाई विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले हाजिर हुन नदिने बताएका छन् । विवादित छविका मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिर हुन नदिने बताएका हुन् । 

इटहरी उपमहानगरपालिकामा लामो समयसम्म बसेका मेहताले जनप्रतिनिधिहरूलाई विवादित बनाउने काम गरेको भन्दै हाजिर हुन नदिने तयारीमा महानगरपालिका देखिएको महानगर स्रोतले बताए । महानगरपालिकासँग सहमति समेत नलिई कार्यशैली ठिक नदेखिएको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाको सचिवालयले जनाएको छ । सरुवा गरेको समाचार आएपछि  मेयर असन्तुष्ट देखिएको बताए ।  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेकोमा मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको बेलामा उनी विवादित भएका थिए । उनले कर्मचारीलाई उक्साएर आन्दोलन गराएको आरोप लाग्दै आएको थियो । उपप्रमुखसँगको विवाद पछि उनले वडाको सर्भर डाउन गराउन भूमिका खेलेको तथा कर्मचारी र जनप्रतिनिधिको बिचमा विवाद सिर्जना गराउने काम गरेको भन्दै मेहता माथि आरोप लाग्दै आएको थियो ।

यस्तै इटहरीमा खरिद प्रकृया र ठुला योजनाहरुको आर्थिक विषयमा उनी माथि प्रश्न उठेको थियो । विद्युतिय बस खरिद प्रकृयामा आर्थिक अनियमितता भएको विषयमा पनि उनी माथी प्रश्न उठेको थियो । सो विद्युतिय बसको भुक्तानी हाल सम्म हुन सकेको छैन् । स्रोत सुनिश्चित नभएको ठुला योजना सुरु गर्ने, ठेक्का लगाउने तर भुक्तानी गर्न नसकेर अलपत्र पार्ने कामले उनको कार्यसम्पादन माथी पनि प्रश्न उठेको थियो । 

विशेष गरी मेयर हेमकर्ण पौडेलसँग साँठगाँठ गरी उपमेयर सहित एमाले पक्षिय जनप्रतिनिधिलाई वायस गरेको जनप्रतिनिधिले आरोप लगाउँदै आएका छन् । चालु आ.ब.मा स्रोतको अभाव हुँदा हुँदै ठुलो आकारको बजेट बनाएर सबै योजनाहरुलाई अलपत्र पारेको उनी माथी आरोप लाग्दै आएको छ ।  

मेहता यसअघि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कार्यरत थिए ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहमति नै नलिई पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई स्विकार्न नसकिने बताए ।  ‘मेयर र जनप्रतिनिधिसँग एक बचन पनि नसोधी पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हामीले कसरी स्विकार्न सक्छौँ र ? ’, उनले भने, ‘हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक हो, सेटिङमा प्रमुख प्रशासकीय अधिकृत आउँदा हामी चुप लागेर बस्दैनौँ ।’

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले इटहरीमा नै त्यत्रो विवाद भएको व्यक्तिलाई महानगरले स्वीकार गर्न नसक्ने बताइन्  । ‘हिजो इटहरीमा त्यत्रो विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका त्यही व्यक्तिलाई हामीले कसरी  स्वीकार गर्न सक्छौँ त’, उनले भनिन्, ‘हामीले अरूलाई पठाए पनि त्यो व्यक्तिलाई नपठाउन मन्त्रालयमा समेत भनेका थियौँ, त्यही व्यक्ति सरुवा लिएर आउने कुरा ठिक हैन ।’