सुनसरी  । साबिक विजेता त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एमएम कप फाउन्डेसन सुनसरीको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफमाथि २ विकेटको संघर्षपूर्ण जित हात पारेको हो । विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बल खेल्दै १ सय ३० रन बनाएर अलआउट हुन पुगेको थियो । सुस्त सुरुवात गरेको एपीएफको इनिङ छैटौं क्रमका ब्याटर प्रकाश जैसी र कप्तान भुवन कार्कीले ५३ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ डोर्‍याउन खोजेका थिए । तर कार्की २५ रन बनाएर आउट भएपछि जैसीले अन्य ब्याटरको साथ नपाउँदा एपीएफ १ सय ३० रनमा समेटिएको थियो ।

जैसीले ३४ रनको नटआउट इनिङ खेले । दीपक बोहोरा १६, अभिषेक पाल १२ र आयुष्मान बमले ११ रन मात्र जोड्न सके । एपीएफले अतिरिक्त १५ रन आर्मीबाट उपहार पाएको थियो । बलिङतर्फ आर्मीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा नरेन साउद र विशाल सुस्लिङले २–२ विकेट हात पारे ।

१ सय ३१ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ३७ दशमलव २ बल खेल्दै पूरा गर्‍यो । 

mof

आइतबारको खेल एपीएफ र बागमती प्रदेशबीच हुने फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिए । प्रतियोगिता सुनसरीको इनरुवामा रहेको जेल फिल्ड रंगशाला मर्मतको नाममा लामो समयदेखि भद्रगोल रहेकाले प्रतियोगिता विराटनगरमा लगेर आयोजना गरिएको हो । प्रतियोगितामा एक भारतीय टिमसहित ६ टोलीले सहभागिता जनाएका छन् ।

वैशाख २० सम्म चल्ने प्रतियोगिताका विजेताले नगद चार लाख र उपविजेताले दुई लाख र ट्रफी पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र उत्कृष्ट ब्याटर र बलरलाई जनही १५–१५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।