सुनसरी । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय राष्टिय क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको छ । एमएम कप फाउण्डेशन सुनसरीको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ८ बिकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमती निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बल खेल्दै ८० रनमा समेटिएको थियो । खराब सुरुवात गरेको बागमतीका ओपनर आशुतोष घिरैयालाई पहिलो ओभरको तेस्रो बलमा दिवान पुनले सुन्य रनमा बोल्ड गराए । त्यसपछी आएका सुमन सुनारलाई दोस्रो ओभरमा भोजराज भट्टले दिपक बोहोराको हातबाट क्याच आउट गराएर खातानै खोल्न दिएनन ।
त्यसपछी आएका ब्याटर उत्तम थापामगर पांचौ ओभरमा १० रन बनाएर आउट भएपछी १३ रन जोड्न बागमतीले ३ बिकेट खर्चिनुपरेको थियो । चौथो नम्बरमा आएका ब्याटर बिबेक राणामगरसंग अर्का ओपनर कप्तान रित गौतमले ३३ रनको साझेदारी गरेपछी सम्मानजनक स्कोरतर्फ अघि बढेको बागमतीको प्रयासमा पुन धक्का लाग्यो । राणामगर १३ रनमा आउट भए ।
गौतमले ३१ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा बामती ८० रनमा समेटिन पुग्यो । बलिङ तर्फ एपीएफमा प्रकाश जैसीले ४ बिकेट लिए । अभिशेष गौतम ३ तथा भोजराज भट्टले २ बिकेट हात पारे । ८१ रनको झिनो लक्ष्य एपीएफले ९ दशमलव ४ बलमा २ बिकेट गुमाउदै सहजै पुरा गर्यो । एपीएफका लागि दिपक बोहराले नटआउट ४८ रनको इनिङ खेल्दा कप्तान सुमित महर्जन १८ रनमा अभिजित रहे ।
सोमबारको खेल आर्मी र बागमती प्रदेशबिच हुने फाउण्डेशनका अध्यक्ष बिप्लव घोषले जानकारी दिए । प्रतियोगितामा एक भारतीय टिम सहित ६ टोलीले सहभागिता जनाएका छन । बैशाख २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले दुई लाख र ट्रफी पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र उत्कृष्ट ब्याटर र बलरलाई जनही १५–१५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।