सुनसरी । मोरङको सुन्दरहरैँचास्थित नयाँ वृन्दावन गौशालामा वैशाख १८, १९ र २० गते विशेष धार्मिक तथा साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ ।

आयोजक राधेश्याम सेवा टष्टले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त दिन शिवालय मन्दिरको प्राण प्रतिष्ठा तथा समाजसेवी एवं सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक “सेवाका सारथि” को लोकार्पण गरिने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले शिवालय मन्दिरको प्राण प्रतिष्ठा पं. भवानीशंकर निरौलाको हातबाट गरिने जानकारी दिए ।

मन्दिरमा प्रतिस्थापन गरिने भगवानको मूर्ति भारतीय कलाकारद्वारा हस्त कलात्मक प्रविधिबाट निर्माण गरिएको र चन्दा दाताहरूको सहयोगमा खरिद गरिएको उहाँले जानकारी दिनुभयो । “सेवाका सारथि” पुस्तकको लोकार्पण वैशाख २० गते दिउँसो ११ बजे हुने जनाइएको छ ।