विराटनगर । खोटाङको साकेलामा मन्त्री गएको कार्यक्रमलाई गाउँपालिकाका अध्यक्षले रोकेका छन्। बिहान कार्यकर्ता भेटघाटसहित साकेला गाउँपालिका पुगेका कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अवरोध गरेका थिए। उनी सहितका धेरै नेता कार्यकर्ताहरु सहभागी भएको अवस्थामा उनलाई अवरोध गरिएको थियो । मन्त्री राईलाई अवरोध गरिएको भिडियो सार्वजनिक भएपनि त्यसबारेमा मन्त्रीले केही बताएका छैनन्। गाउँपालिकाका अध्यक्ष राईले पालिकाको बजेट अन्यत्र रकमान्तरण गरिएको, साकेला गाउँपालिकाको बजेट कटौती भएको, साकेला गाउँपालिकालाई विकास निर्माणमा पछि पार्न खोजिएको लगायतका विषयमा नागरिकका असन्तुष्टिहरू आफू गाउँपालिकाको अध्यक्ष भएको नाताले राखिएको बताए । उनका अनुसार, प्रदेश सरकारले उपलब्ध गराएको बजेट दिक्तेलमा पठाएको र साकेलालाई बेवास्ता गरिएको छ। चालु आर्थिक वर्षको बजेटमा साकेलालाई नसमेटेको विषयमा उनको असन्तुष्टि रहेको भिडियोमा देखिन्छ । उनले भिडियोमा भनेका छन्, `अर्को बाटो काटियो र पैसा दिक्तेलमा हालियो। आउँदो बजेटमा हाल्नुस् कार्यक्रम गर्न बोलाउँछ शिलान्यास र उद्घाटन गर्नु बोलाउने तर यतिबेला नआउनु भनेका थियौ जबरजस्ती आउनुभयो। त्यसैले रोकेका हौं ।´ गाउँपालिकाका अध्यक्ष राईले मन्त्री गाउँमा आउँदा एक कल पनि नगरेको, सचिवालयले समन्वय नगरेको कुनै पत्र पनि नपठाएको समेत आरोप लगाएका छन्। उनले भने, `उहाँ पालिकाको कार्यालयमा समेत आउनुभएन म आउनुहोला भनेर निकैबेर कुरेर बसे तर नआएपछि माया आउनुपर्ने अवस्था आयो ।´
खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले नागरिकको अवरोध हुने ठानेर प्रहरी परिचालन गरिएको जानकारी दिए। छलफलपछि कुरा मिलेको बताएका छन्। तर के भएको थियो भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुनै प्रतिक्रिया दिएन। उहाँहरूबीच कार्यक्रम गर्ने विषयमा छलफल भएको थियो। उनले भने निकै बेरको छलफलपछि कुरा मिलिसकेको छ। घटनामा के भयो भन्ने विषयमा उनले आफूलाई जानकारी नै नभएको बताएका छन्। मन्त्री र राई एउटै पार्टीका नेता हुन् ।