सुनसरी ।कारागारहरूमा अत्यधिक कैदी र थुनुवा भएका कारण केही समस्या र जोखिमहरू रहेको भन्दै गृहमन्त्री रमेश लेखकले यी समस्याको निराकरणका लागि कारागारहरूलाई थप सुव्यवस्थित बनाउने कामहरू अगाडी बढेको बताउनु भएको छ ।
मोरङ कारागारको नवनिर्मित भवनको मङ्गलवार उद्घाटन गर्दै मन्त्री लेखकले खुला कारागारको अवधारणा आवश्यक रहेको बताउनु भयो । कारागारलाई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले कैदी र थुनुवाको मानवअधिकार संरक्षण हुनुपर्ने बताउनु भयो । कैदी र थुनुवाको मानवअधिकारप्रति सरकार गम्भीर रहेको पनि गृहमन्त्री लेखकको भनाई छ ।
२०७८ साल असार २४ गते सम्झौता भई निर्माण सुरु भएको कारागार भवन ३५ करोड ४४ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।
नव निर्मित संरचनामा पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन, कारागार प्रमुख आवास, सुरक्षा पोष्ट, सीमा पर्खाल, चेक जाँच कक्ष, सुरक्षा पर्खाल, नाला, सडक, आकस्मिक पानी पोखरी लगायत छन् । नव निर्मित भवनमा दुई सय १८ जना पुरुष र ९९ जना महिला बस्न सक्ने क्षमताका छन् । मोरङ कारागारमा नौ सय ३२ जना पुरुष, एक सय नौ जना महिला र तीन जना नाबालक सहित एक हजार ४४ जना कैदी र थुनुवा रहेका छन् ।