विराटनगर । कोसी प्रदेशसभा भित्र पछिल्लो समय सांसदहरू मर्यादामा नबसेको भनेर बेला बेला चर्चा हुन्छ । सांसदहरू कुराकानी गर्दै भन्छन्, ‘प्रदेश सभामा उहाँ माननीय ज्यूले यो काम नगरेको भए हुन्थ्यो, प्रदेशसभा भित्र यस्ता कुरा नबोलेको भए पनि त हुन्थ्यो ।’ बेलाबेला प्रदेशसभा भित्रै माननीय ज्यूहरूको बिचमा हुने छेडखानी त सामान्य नै हुने भए । तर शुक्रवार प्रदेश सभाको बैठक चलिरहेको बेला एक जना प्रदेश सभा सदस्यले सुर्ती तथा सुर्तीजन्य पदार्थ नै सेवन गरेका छन् । कोसी प्रदेश सभाको सातौँ अधिवेशनको दशौँ बैठकको शून्य समय सकिएपछि नेपाली काँग्रेस दलको तर्फबाट धारणा राख्न सभामुखले समय दिन्छन् ।
दलको तर्फबाट नेपाली काँग्रेसका सांसद प्रदीपकुमार सुनुवारले आफ्ना कुराहरू राख्दै थिए । किसानका समस्यालाई ब्याज अनुदानले सम्बोधन नगर्ने बताउँदै थिए । उनले दलको तर्फबाट कुरा राख्दै गर्दा गणतन्त्रबादीहरु एकै ठाउँमा रहेको भन्दै उनले अहिलेको व्यवस्थालाई राम्रो रहेको बताए । गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै उनले भिजिट भिसाको सन्दर्भमा ठुलो प्रश्न उठेकोले प्रदेश सभा भित्र पनि भाइरल हुने मात्रै काम केही सांसदले गरेको गुनासो गर्छन् ।
सांसद सुनुवारले यति बोल्दा नबोल्दै एउटा दृश्य देखिन्छ, सांसदले मुखमा फाँको मारेको । नेकपा माओवादी केन्द्रका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराँतीले दाहिने हातबाट केही निकाल्छन् र मुखमा फाँको मार्छन् । उनले यसरी सेवन गरेको कुरा के थियो भन्ने स्पष्ट नभए पनि उनी मुखमा त्यो बस्तु हालेर बसेको कुर्सीको दायाँ पट्टी ढल्किन्छन् । उनले मुखमा हालेको त्यो बस्तु मर्याङ मर्याङ चपाउँदै गर्छन् ।

पछिल्लो समय प्रदेश सभा भित्रै निदाउने, फोन चलाउने, कुराकानी गर्ने, टिकटक हेर्ने, फेसबुकका रिल बनाउने, फोटो खिच्ने जस्ता गतिविधि हुँदै आएको भन्दै केही सांसदहरूले आलोचना समेत गर्दै आएका छन् । प्रदेश सभा नियमावली २०७४ संशोधन सहितले प्रदेश सभा सञ्चालन भएको बेलामा यस्ता गतिविधि गर्न वर्जित गरेको छ ।