सुनसरी । हङकङ विरुद्ध जित हात पार्न उच्च मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन् ।
बुधवार हङकङ स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङलाई नजिकबाट नियालेको बताए ।हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको बताए ।
रातीको खेलमा हङकङको अवस्था राम्रो भए पनि आफूहरूले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।
उनले भने, “हामीले एसियन च्याम्पियनसिप छनोटमा लाओसविरुद्धको खेल पूर्व यस प्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक ऊर्जा दिएको छ।
हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौ । यो सुखद पक्ष हो ।” हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्टाए ।
हङकङसंगको उच्चस्तर खेल हुने बताएका मुख्य प्रशिक्षक रसले हङकङ विरुद्ध आफूहरूले उत्कृष्ट खेल प्रस्तुत गर्ने उल्लेख गरे । प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले हंगकंगसंगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ट अभ्यास गरेको बताए ।
उनले भने, “हामी विपक्षीलाई सम्मान गर्छौ। तर पनि पाहुनाका रूपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेका छौ ।” बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले आज बेलुका अन्तिम अभ्यास गरेको छ ।
हङकङले यसै मैदानमा केही दिन अघि इंगलिश टोली म्यानचेस्टर युनाइटेडसंग ३ एक गोल अन्तरले हारको स्वाद पाएको थियो । हङकङको टोली फिफा वरियतामा १५३ औँ स्थानमा रहेको छ ।