इटहरी। प्लास्टिक फोहोर व्यवस्थापन चुनौती बनेको अवस्थामा विश्व वातावरण दिवसको सन्दर्भमा बिहीबार धरानको नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस २३ औँ कार्यसमितिले ‘प्लास्टिक देऊ, बिरुवा लैजाऊ’ अभियान सञ्चालन गरेको छ । सार्वजनिक स्थल, खोलानाला, ल्याण्डफिल साइड र खुल्ला स्थानमा प्लास्टिक विसर्जन हुने गरेको छ । जसले गर्दा यसलाई न्यूनीकरण गर्नका लागि ‘प्लास्टिक देऊ, बिरुवा लैजाऊ’ अभियान चलाइएको हो ।
अभियानमा क्याम्पसका विद्यार्थी मात्र नभएर स्थानीय बासिन्दाहरू पनि सहभागी भएको नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस सभापति प्रभाव कटुवालले बताए । उनका अनुसार अभियानका क्रममा क्याम्पस भित्र र आसपासको प्लास्टिक झण्डै ३५ केजी प्लास्टिक बोतल सङ्कलन गरियो । सङ्कलन गरेको प्लास्टिक बोतल रिसाइकलको लागि पठाउनेछ ।
यसै क्रममा धरान–८ स्थित अरनिको मेमोरियल बोडिङ्ग स्कुलमा अभियान चलाइएको थियो । २०० जना विद्यार्थीले झण्डै ५०० वटा प्लास्टिक बोतल सङ्कलन गरेर नेपाल विद्यार्थी सङ्घलाई दिएको कटुवालले बताए ।
अभियानको नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् नेविसंघ पूर्व केन्द्रीय सभापति राजीव ढुङ्गानाको प्रमुख अतिथि रहेका थिए ।
सो क्रममा नेविसंघ पूर्व केन्द्रीय उपसभापति विकास केसी, नेपाली काँग्रेस सुनसरी क्षेत्र नं २ ‘क’ सभापति सुभेक्क्षुक देवान, नेता उमेश सुब्बा, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस सभापति विनोद आले मगरलगायतको सहभागिता रहेको थियो ।