सुनसरी । विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्वले सुनसरीमा सुरु गरिएको बराह एसईई कप अन्तर माध्यमिक फुटबलको दोस्रो संस्करणमा ३२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन ।
सुनसरीको बराहक्षेत्र-३ मा रहेको स्काई फुटबल एकेडेमीको आयोजनामा आइतबारदेखि हुने प्रतियोगितामा मोरङ र सुनसरीका ३२ विद्यालयले सहभागिता जनाउने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
तीन सातासम्म चल्ने प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थीले मात्र खेल्न पाउने एकेडेमीका संरक्षक एवं फुटबल प्रशिक्षक नदी राईले जानकारी दिए । बराहक्षेत्र-३ स्थित खेल मैदानमा हुने प्रतियोगिताका विजेताले नगद ३० हजार र शिल्ड तथा उपविजेताले १५ हजार पाउने एकेडेमीका अध्यक्ष सुमन कार्कीले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडी कक्षा ११ र १२ का लागि शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुनेलाई ७५ प्रतिशत र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
गत संस्करणमा बराहक्षेत्र-५ को सिद्धार्थ एकेडेमीलाई पराजित गर्दै नेपाल पुलिस स्कुल धरानले उपाधि जितेको थियो । प्रतियोगिताको फाइनल खेल असार ११ गते हुनेछ ।