विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीका विरुद्ध मुद्दा चलाउने तयारी भएको छ । ड्युटीका खटिएका प्रहरीलाई गाली गलौज गरी प्रहरीको मनोबल गिराएको भन्दै  प्रहरीले मुद्दा दायर गर्ने तयारी गरेको हो । कोशी गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले कोशी गाउँपालिकामा रहेको कोशी कटानमा रहेको ट्राफिक प्रहरी र जनपद प्रहरीलाई दुई दिन अघि गाली गरेका थिए ।

उनले गाली र अपशब्द बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सो विषयमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ । सुनसरीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनराज तिम्सिनाले मुद्दा दायर गर्न आवश्यक कागजात भेला पारी रहेको बताए ।

उनले भने ड्युटीमा खटिएका जनपद प्रहरीका असई र ट्राफिक प्रहरीका असई रामराजा यादवलाईलाई अपशब्द बोल्दै पालिका प्रमुखले गाली गलौज गरेकाले आवश्यक कारवाहीका लागि प्रहरीले काम थालेको बताए । घटना दुई दिन अगाडिको भए पनि आजबाट भने प्रहरीले कानुनी कारवाहीका लागि तयारी गरेको हो । प्रहरी श्रोतका अनुसार यस विषयमा प्रहरीले माथिल्लो निकायमा जानकारी गराएको छ । गृह मन्त्रालयमा पनि यस बारेमा कुरा गरेको प्रहरी श्रोतले जनाएको छ । 

के भएको थियो घटना ?  

जेठ २३ गते सुनसरीको कोशी गाउँपालिकामा को १ त ४९४३ नम्बरको ट्याक्टर आँउछ ।  कटानमा क्षेत्रमा खटिएका ट्राफिक प्रहरीका असई रामराजा यादवले एउटा ट्याक्टर रोक्छन् । ट्र्याक्टरमा बाँस लोड गरिएको हुन्छ । ट्याक्टरमा क्षमता भन्दा बढी (अभोर लोड) बाँस ढुवानी गरेको भेटिएपछि उनले कारवाहीका लागि जरिवाना तिराउन खोज्छन् । बाँस बोकेका ट्र्याक्टर चालक कोशी गाउँ पालिकाका प्रमुख ऐयब अन्सारीका आफन्त हुन्छन् । उनले  फोन गरेपछि  पालिका प्रमुख घटना स्थलमा पुग्छन् ।

उनले घटना स्थलमा पुगेर प्रहरीलाई अपशब्द गर्दै गाली गर्छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले बोली नै पिच्छे प्रहरीलाई अपशब्द बोलेका छन् । उनी बोली नै पिच्छे अपशब्द बोल्दै प्रहरीले मेरो पालीकाका जनतालाई दुख दिएको भन्दै गाली गर्छन् । पालिका प्रमुख  ऐयुबले बोलको भिडियोमा प्रहरीले घुस खाएको भन्दै मेरो गाउँमा घुस भन्दै आक्रोशित व्यवहार देखाएका छन् । उनले आफूले गरेको फोन समेत ड्युटीमा खटिएका प्रहरीले नउठाएको भन्दै निरन्तर गाली गर्छन् । 
कटानमा केही दिन अघि प्रहरीले दूध बोकेको मोटरसाइकललाई समेत कारबाही गरेको थियो । प्रहरीका अनुसार दूध बोकेको मोटर साइकलमा ओभर लोड भएका कारण ५ सय रुपैयाँको चिट काटेको थियो । चिट काटेका कारण र प्रहरीले दूध बोकेको मोटरसाइकल रोकेका कारण दूध फाटेको भन्दै गाउँपालिका अध्यक्ष अन्सारीले ट्राफिक प्रहरी र जनपद प्रहरीलाई गाली गलौज गरेको भिडियोमा सुन्न सकिन्छ ।
पालिका अध्यक्ष अन्सारीले विवादमा मुछिएपछि उक्त शब्द आफूले नबालेको बताएका छन् । उनले एआई को प्रयोग गरेर यस्तो भिडियो बनाइएको भन्दै आफूले त्यसो नभनेको बताएका छन् । उनले भिडियोमा कसरी यस्तो भिडियो आयो भन्ने बारेमा थाहा नभएको भन्दै भिडियो पोस्ट गरेका छन् ।