विराटनगर । शिक्षकलाई भन्नुस्, सक्नुभएन भने अभिभावकलाई भन्नुस्, अनि अझै पनि नसक्नु भयो भने मलाई भन्नुस् – म तपाईँहरूसँग छु। विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको यो भनाइको गहिराइ कति थियो भन्ने महसुस हरेक कक्षा ९ र १०का विद्यार्थीहरूको अनुहारले बताइरहेका थिए ।
सामान्यतया विद्यालयहरूमा हुने कार्यक्रमहरू एकतर्फी हुन्छन् । त्यसमा पनि बालिकाहरूको समस्या सुनिदिने त नगन्य नै भेटिन्छन् । सत्तामा बस्ने बोल्छन्, पीडित सुन्छन्। तर ‘छात्रासँग उपप्रमुख कार्यक्रम’ फरक थियो । उपप्रमुख कार्कीका अनुसार विद्यालयका ढोका बन्द गरिन्थ्यो अनि बालिकाहरूको कुरा सुन्न थालिन्थ्यो ।
विराटनगर महानगरपालिकाका धेरै विद्यालयमा यस्तै अभ्यासहरू भए । विद्यालय शिक्षाको गुणस्तर सुधारदेखि विद्यालय भित्र छात्रामाथि हुने व्यवहार, त्यहाँको पठन पाठन, शिक्षकहरूको भूमिका, विद्यालयका समस्याहरूको विषयमा बालिकाहरूले खुलेरै समस्या राख्दछन् । कतिपय विषयहरूलाई त्यहीँ समाधान खोजिन्छन् भने संवेदनशील विषयहरूलाई महानगरले अनुसन्धान गरेर टुङ्गो लगाउँदै आएको आदर्श बालिका माविका शिक्षक इन्दिरा राईले बताइन् ।
कार्यक्रमको खास उद्देश्य थियो, बालिकाहरूका असहज यथार्थ बुझ्नु, विद्यालय भित्र हुने दुर्व्यवहार, घरभित्रकै हिंसा, सामाजिक सञ्जालमा चिने जानेकै व्यक्तिहरूबाट आउने आपत्तिजनक सन्देशहरूको विषयहरू पनि छात्राहरूले खुलेरै राख्ने गरेका छन् । बोल्न डर लाग्ने, सुन्ने कोही नभेटिने पीडादायी छात्राहरूकै अनुभवहरूले विद्यालयलाई सुधार गर्दै लग्ने वातावरण समेत बनेको छ । जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि पराजुलीले उपप्रमुखको नेतृत्वमा सञ्चालनमा रहेको छात्रासँग उपप्रमुख कार्यक्रम सँगै किशोरी सशक्तीकरण कार्यक्रम समेत प्रभावकारी हुँदै गएको बताए ।
विद्यालयमा उपप्रमुखको उपस्थिति केवल राजनीतिक हैसियतको प्रस्तुति थिएन । बालबालिका प्रतिको विश्वास, समर्पण र अपनत्व थियो । यो कार्यक्रमलाई प्रभावकारी र परिवर्तनकारी पहलका रूपमा लिइएको छ । बालबालिकाको मन बुझ्न, उनीहरूको तिक्त अनुभव सुन्न र बालबालिकाको अप्ठ्यारोमा स्थानीय पालिका छ है भन्ने दिलाउनको लागि पनि यो कार्यक्रम प्रभावकारी देखिएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।
‘छात्रासँग उपप्रमुख’ कार्यक्रम एउटा औपचारिकतामा भन्दा पनि बालबालिकाको मनोविज्ञानसँग जोडिएको उनले बताइन् । देख्दा सामान्य लाग्ने तर यसको प्रभाव परिवार, समाज, विद्यालय हुँदै समग्र पक्षमा नै पर्ने भएकोले विराटनगर महानगरपालिकाको यो कार्य प्रेरणादायी छ । विराटनगर महानगरपालिका भित्रका झन्डै २ दर्जन विद्यालयमा पुग्दा समस्या बोल्न सक्ने ठाउँ हुँदा, समाधान खोज्न सक्ने संयन्त्र स्वतः सक्रिय हुन्छ भन्ने उदाहरणीय कार्यक्रम छात्रासँग उपप्रमुख बनेको छ ।
भिडियो रिपोर्ट