विराटनगर । विराटनगर महानगरपालिकाले व्यवसाय दर्ता र नवीकरणमा छुट दिने नीति लिएको छ ।
विराटनगर महानगर पालिका भित्र व्यवसाय गर्ने एकल महिला, सीमान्तकृत समुदायका महिलाहरूले सञ्चालन गरेको व्यवसाय दर्ता र नवीकरणमा छुट दिने नीति लिएको हो ।
महानगरले आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रमबाट अपाङ्गता भएका व्यत्तीहरुले सञ्चालन गरेको व्यवसाय दर्ता नवीकरणमा छुट दिने नीति लिएको हो । महानगरले यस्तो नीति लिएपछि २ सय भन्दा बढिले यस्तो नीतिबाट लाभ लिएको विराटनगर महानगरले जनाएको छ ।
एकल महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएकाहरूको आर्थिक विकासका लागि महानगरले यस्तो नीति लिएको विराटनगर महानगरपालिका राजश्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।
विराटनगर महानगरले अहिले करको दर घटाएर दायरा फराकिलो बनाउने नीति लिएको छ । यसका लागि कर शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । कर शिक्षा कार्यक्रम लिएर टोल टोलमा पुग्ने स्वयसेवकहरुले महानगरले दिएको छुटको नीतिको बारेमा जानकारी गराउने छन् ।
उनीहरूले एकल महिला, अपाङ्गता भएका र सीमान्तकृत समुदायले सञ्चालन गरेको व्यवसायको रेकर्ड समेत राख्ने गरेका छन् । यसरी राखिएको रेकर्डका आधारमा समेत व्यवसाय दर्ता र नवीकरणमा छुट दिने गरिएको महानगरले जनाएको छ ।
विराटनगर महानगरका उप प्रमुख शिल्पा कार्की महानगर सधैँ एकल महिला, अपाङ्गता भएका र सीमान्तकृत समुदायको पक्षमा रहेको बताइन् । उनले भनिन् उनीहरूका उत्थानका लागि महानगरले कार्यक्रमहरू ल्याउँछ ।