विराटनगर। नेकपा एमाले महानगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विराटनगरको विकासका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ। महानगर कमिटीका अध्यक्ष बलराम गिरी नवीनकाे नेतृत्वमा गएको टाेलीले विराटनगरका समस्यालाई आगामी बजेटमा सम्बाेधन गर्न माग गरेको छ । गिरीका अनुसार, कोशी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदिएपछि ज्ञापनपत्र बुझाइएको हो। विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको गिरीले बताए। ज्ञापनपत्रमा विराटनगर चक्रपथ, प्रदर्शनी केन्द्र, यातायात सुधार, क्रिकेट रङ्गशालाको स्तरउन्नति, केशलिया तटबन्ध लगायतका विषय उठाइएको छ। महानगरका सचिव विज्ञान चापागाईंले विराटनगरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि ज्ञापनपत्रमा सुझावहरू सहित बजेट व्यव व्यवस्थापन गर्न भनिएको बताए । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महानगरले उठाएका विषयलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।