विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एक मात्रै महानगरपालिका हो ।
नेपालको राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको महत्त्वपूर्ण योगदान रहेको छ । जहानियाँ राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्तिको जग विराटनगर नै हो ।
वि.सं. १९९३ सालमा नेपालकै पहिलो उद्योगका रूपमा स्थापित विराटनगर जुट मिलको मजदुर आन्दोलनकै जगमा टेकेर २००७ को क्रान्ति भएको देखिन्छ । विराटनगरले प्रधानमन्त्रीसँगै थुप्रै मन्त्री जन्मायो ।
तर जुन रूपमा विराटनगरले विकासको गति लिनुपर्ने हो त्यसअनुसार नलिएको विश्लेषकहरू नै बताउँछन् ।
पटक–पटक सत्ताको नेतृत्व गरेको विराटनगरले समग्र देशको विकासतर्फ ध्यान दिँदा विराटनगर भौतिक पूर्वाधारको विकासमा पछि परेको उनीहरूको टिप्पणी छ ।
७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरमा १९ वटा वडा रहेका छन् । नगरपालिका, उपमहानगरपालिका हुँदै महानगरपालिकाको स्थान प्राप्त गरेको विराटनगर पछिल्लो समय भने समृद्धि र विकासको पथमा अगाडि बढिरहेको जनप्रतिनिधिहरू दाबी गर्छन् ।
आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विराटनगर महानगरपालिकाले ३९ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको महानगरले खाल्डाखुल्डीरहित महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । कालोपत्रे सडकमा रहेका खाल्डाखुल्डी तत्कालै पुर्ने गरेको छ ।
सीमित स्रोत र साधनका बाबजुद पनि विराटनगरवासीको चाहना परिपूर्ति गर्न लागिपरेको महानगरका मेयर नागेश कोइराला बताउँछन् ।
पछिल्लो तीन वर्षमा ३९ किलोमिटर कालोपत्रे गरेको महानगरले ५६ किलोमिटर नयाँ सडकमा ग्राभेल, ५३ किलोमिटर नाला, १९८ वटा कल्भर्ट, ११४ किलोमिटर आरसिसी सडक ढलान र ९५ किलोमिटर रिटे रिङ वाल निर्माण गरिएको छ ।
बहु वर्षीय योजनामा १ अर्ब १५ करोड
विराटनगर महानगरका १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठुला साना परियोजना सञ्चालन भइरहेका छन् । वडा स्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरू निर्माणको चरणमा रहेका छन् ।
सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रूपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताए ।
उनका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माण भएको छ ।
वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहु प्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिएसपी दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक कालोपत्रे भइसकेको मेयर कोइरालाले जानकारी दिए ।
वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्र सभागृह हस्तान्तरणको चरणमा पुगेको छ ।
वडा नम्बर ७ स्थित श्मशान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।
वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–४ राजवंशी चोकदेखि पश्चिम पुलचोकदेखि पिचरा नहर हुँदै विराटनगर–१३ स्थित पूर्वाञ्चल बालश्रम दक्षिण मुख्य सडकसम्म नहरको डिलको सडकमा कालोपत्रे निर्माण भइरहेको छ ।
करिब ५ किलोमिटर लम्बाई रहेको सो सडकको लागत ६ करोड रुपैयाँ रहेको छ । ठेक्का लागिसकेको छ ।
विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ ।
महानगरको बहु वर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उनले बताए ।
१७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिँढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ ।
त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रङ्ग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ ।
सडक सौन्दर्य करण र ट्राफिक लाइट जडान
बरगाछी–रानी सडकको सौन्दर्य करण अभियान जारी रहेको छ । विराटनगरमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको आर्थिक सहयोगमा सो सडकको सौन्दर्य करण भइरहेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत हालसम्म १९ वटा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट ३३ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
बरगाछी–रानी सडक खण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये २ वटामा मात्रै अब फूल रोप्न बाँकी रहेको महानगरका तर्फबाट सो परियोजना हेरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।
महानगरले उद्योगी एवं समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा उपभोक्ता समिति नै गठन गरेर सौन्दर्य करण कार्यलाई अगाडि बढाएको छ ।
महानगरले विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन कञ्चनवारि, तीन पैनी, जलजला, रोड शेष र घाँस चोकमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान गरेको छ ।
उज्यालो विराटनगरले सार्थकता पाउँदै
महानगरपालिका विराटनगरवासीलाई अँध्यारोबाट मुक्त गर्ने अभियानमा पनि लागेको छ । हाल मुख्य र सहायक सडकका हरेक पोलमा बत्ती बल्नै पर्ने नीति लिइएको छ ।
मेयर कोइराला राति आफैँ सडक बत्तीको अनुगमनमा निस्कने गरेका छन् । ‘राति म आफैँ अनुगमनमा निस्कने गरेको छु,’ उनले भने, ‘जुन पोलमा बत्ती बलेको छैन तत्कालै प्राविधिक टोलीलाई बोलाएर बत्ती बालेर हिँड्छु ।’
राति गाडी र मोटरसाइकलको हेड लाइट अफ गरेर हिँड्न सक्ने विराटनगर बनाएको उनको दाबी छ । ढाटदेखि रानी नाकासम्म अन्तर्राष्ट्रिय मापदण्डको पोल गाडेर दुवैतर्फ बत्ती बल्ने गरी चालु आर्थिक वर्षको बजेटमा रकम समावेश गरेको मेयर कोइरालाले बताए ।