सुनसरी । जिल्ला र प्रदेश छनौट प्रतियोगिता औपचारिकतामा सीमित भएपछि १५ औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विहीन हुँदै अङ्क तालिकाको पुछारमा रहेको कोसी प्रदेशको प्रदर्शनलाई लिएर प्रदेश खेलकुद विकास बोर्डको भूमिकामा प्रश्न उठेको छ ।
स्थानीय तहहरुले निकै तामझामका साथ ठुलो धनराशि खर्च गरेर छनौट गरे पनि जिल्ला र प्रदेश छनौटमा झारा टार्ने प्रवृत्ति हाबी हुँदा कोसी प्रदेशले पहिलो पटक स्वर्ण पदक विहीन बन्नुपरेको छ । 
पदकको प्रमुख दाबेदार मानिएको सुनसरी सहित खोटाङ र सोलुखुम्बुले जिल्ला छनौटनै गर्न सकेनन् । स्थानीय तहबाट छनौट भएर आएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले जिल्ला छनौट गर्न नसकेपछि ती जिल्लाका ३ सय बढी खेलाडी प्रतिस्पर्धा गर्नबाट वञ्चित भए ।
यसको असरले गर्दा पनि कोसी प्रदेशको नतिजा लज्जास्पद आएको एक खेलकुदकर्मीले बताए ।
प्रदेश खेलकुद विकास बोर्डले बेलैमा समन्वय नगर्दा जिल्ला छनौट नहुनु र छनौट भएका जिल्लाहरूबाट हचुवाको भरमा खेलाडी टिपेर प्रतिस्पर्धा गराएकाले पनि कोसी प्रदेशको खराब नतिजा आएको ती खेलकर्मीको भनाई छ ।
२ करोड खर्च गरेको कोसी प्रदेशले यस पटकको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विहीन हुँदै केवल ७ रजत र ८ कांस्य पदक लिएर अन्तिममा स्थानमा रहेको छ ।