सुनसरी–कोसी प्रदेश सरकारले गत असार एक गते ल्याएको बजेटको विपक्षी दलका नेताहरूले आलोचना गरेका छन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले बजेटको आलोचना गरेका हुन् ।
२०७४ सालयता प्रदेश सरकारले ल्याएका सबै बजेट चालु खर्च भन्दा पुँजीगत खर्च बढीका बजेट आउने गरेकोमा यो वर्ष प्रदेश सरकारले पुँजीगत भन्दा चालु तर्फ बढी बजेट विनियोजन गरेको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले आलोचना गर्नुभएको छ ।
बजेट ल्याउँदा ढङ्ग नपु¥आउँदा र अबण्डामा धेरै रकम छुट्याएका कारण चालु तर्फ ५२ प्रतिशत भन्दा बढी रकम विनियोजन गरिएको आङबोको भनाइ छ ।
उत्पादन क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै आङ्बोले बजेट चरम वितरणमुखी, असन्तुलित एवम् सोतको चरम दोहन र दुरुपयोग गरिएको तर्क गर्नुभयो ।
सुरु गरिएका आयोजना सम्पन्न गर्ने भन्दा कनिका छरेजस्तो बजेट छरेर ल्याइएको भन्दै् आङ्बोले आलोचना गर्नुभयो । पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले ऐन, नियम र परम्परालाई ख्याल नगरी प्रदेश सभा सञ्चालन गर्ने गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
जनसङ्ख्या, जनघनत्वको आधारमा पनि अनुपयुक्त, एक किलोमिटर रेलमार्ग तीन अर्ब रुपैयाँ खर्च हुने तथा प्रदेश सरकारले बनाउनै नसक्ने चतरा चौंरीखर्क रेल आयोजनामा अध्ययन गर्ने नाममा बजेट विनियोजन गरिएको भन्दै राईले यसमा लगानी गर्नु बालुवामा पानी खन्याउनु सरह भएको टिप्पणी गर्नुभयो ।
मुआब्जा वितरणमा मात्र ३२ अर्ब रुपैयाँ खर्च हुने विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय प्रदेश सरकारले बनाउनै नसक्ने भन्दै राईले यस्ता गर्न नसकिने काममा लगानी गरेर रकमको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
प्रदेश सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल भएको छ ।
छलफलमा तीन जना प्रदेश सभा सदस्यहरूले भाग लिएका छन् । नेकपा माओवादी केन्द्रका सपना दर्जी र गोम्बु शेर्पा तथा नेकपा एमालेका रमेश कुमार बस्नेतले भाग लिएका छन् ।
सत्तापक्षका प्रदेश सभा सदस्यले बजेटको समर्थन गरेका थिए भने प्रतिपक्षी प्रदेश सभा सदस्यहरूले बजेको आलोचना गरेका थिए ।
प्रदेश सभाको बैठक असार छ गते शुक्रवार एक बजे सम्मका लागि स्थगित भएको छ ।