विराटनगर । गाउँपालिका अध्यक्ष एक्लैसँगै  निर्णय गर्ने अधिकार भएको भन्दै कार्यपालिका सदस्यहरू उठेर हिँडेपछि विभिन्न ११ वटा विषयमा निर्णय गरेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णय विरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

कार्यपालिकाको  सदस्यको सहमति बिन ११ वटा निर्णय गरेपछि उनको निर्णय विरुद्ध उप प्रमुख गुणावती थारुले रिट निवेदन दिएकी थिइन् । थारुले दिएको रिट निवेदन उपर सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले रिट उपर अन्तिम फैसला नभएसम्म गाउँपालिका अध्यक्षले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।  

उच्च अदालत विराटनगरका न्याधिश मिला सुवेदी र कृपाशुर कार्कीको इजलासले अन्तरिम आदेश जारी गर्दै  अध्यक्ष माझीले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । 

 गत जेठ १ गते बसेको गाउँ कार्यपालिकाको बैठकका क्रममा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि अध्यक्ष माझी बैठक छाडेर बाहिरिएका  थिए ।  अध्यक्ष माझीले सोही बैठकको उपस्थिति देखाएर पछि ११ वटा निर्णय गरेको भन्दै उपाध्यक्ष थारु अदालत गएकी थिइन्
।   
कार्यपालिका सदस्यहरूले बैठकको उपस्थितिमा हस्ताक्षर गरिसकेपछि माझी  बैठक छाडेर रिसाउँदै बाहिरिएका थिए । 
अध्यक्ष नै बैठक छाडेर हिँडेका कारण उपाध्यक्ष थारुसहित कार्यपालिकाका अन्य सदस्यहरूले माइन्यूटमा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ भन्ने लेखेर हस्ताक्षर गरी हिँडेका थिए । 

तर अध्यक्ष माझीले सोही उपस्थितिलाई आधार बनाएर एक्लै ११ वटा निर्णय गरेका थिए । सहमति बिना नै एकल रूपमा निर्णय गरेपछि उपाध्यक्ष थारुले उच्च अदालत गुहारेकी हुन् । 

अध्यक्ष माझीले प्रत्येक कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूलाई चित्त नबुझे अदालत जानू भनेर धम्की दिँदै आएको कार्यपालिकाका एक सदस्यले बताए । अध्यक्ष माझीले हरेक बैठकमा आफूखुसी निर्णय गर्न खोज्ने गरेको कार्यपालिकाका ती सदस्यले बताए ।

माझीले भने गाउँपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ को दफा १५ को निर्णय सम्बन्धी व्यवस्थाको उपदफा १५ ३ मा ‘बजेट कार्यक्रम र नीति तथा स्थानीय तहको नियमावली बाहेक विषयमा १५।२ बमोजिम निर्णय हुन नसकेमा व्यक्तिगत उत्तरदायित्व निज माथि रहने गरी गाउँ कार्यपालिकाको अध्यक्षले गरेको निर्णय अन्तिम हुनेछ’ भन्ने लेखिएको भन्दै सोहीअनुसार निर्णय गरेको निर्णय पुस्तिकामा उल्लेख गरेका छन् ।