विराटनगर । न्यूनतम ज्याला वृद्धिको माग गर्दै बिहीबार श्रमिक आबद्ध संस्थाहरू संयुक्त ट्रेड युनियन महासंघले विराटनगरमा र्याली निकालेको छ । विराटनगरमा संसारी माई स्थानबाट निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
र्यालीमा सहभागीहरूले मजदुर एकता जिन्दाबाद, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर, श्रमिकलाई सामाजिक सुरक्षामा सूचीकरण गर, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर, ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमिक निर्धारण गर लगायतका नाराबाजी गर्दै नगरको परिक्रमा गरेका थिए । र्यालीपछि महेन्द्र चौकमा भएको कोणसभामा कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईलाई ज्ञापन बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउँदै नेपाल ट्रेड युनियन काँग्रेस कोसी प्रदेशका अध्यक्ष नारायणबाबु कार्की, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ लगायतले श्रमिकलाई सरकारले अपमान गरेको भन्दै न्यूनतम पारिश्रमिक दिनुपर्नेमा जोड दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री राईले सरकार श्रमिकका मागहरू पूरा गर्न लाग्ने बताउनुभयो ।
उहाँले सरकार जहिले पनि श्रमिकको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।