सुनसरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाले बुवाआमाको सेवा गर्ने उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गरेको छ ।
नगरपालिकाले १२ जना दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गरेको हो । प्रत्येक वडाबाट एक–एक उत्कृष्ट जोडी छनोट गरेर आज(आइतबार) एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । उनीहरूलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
परिवारमा आमाबुवा तथा सासुससुराको श्रद्धायुक्त सेवा, समर्पण र स्नेहपूर्ण हेरचाह गरेर पारिवारिक मूल्य तथा परम्पराको संरक्षणमा अनुकरणीय उदाहरण बनेका जोडीहरुलाई सम्मान गरिएको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले जानकारी दिए ।
उत्कृष्ठ ‘ढुकुर जोडी’ छनौट गर्न विभिन्न सूचकहरु तयार गरिएको र सोही सूचक पुरा गरेका आधारमा छनौट गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताए ।
संयुक्त परिवारमा बस्ने,दीर्घकालीन वैवाहिक जीवन, सामाजिक योगदान र पारिवारिक मूल्यलाई मुख्य आधार मानिएको उनले बताए । छनोटमा पर्न नगरपालिकाले सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । जसमा ४८ वटा निवेदन परेका थिए ।
उपमेयर अकली चौधरीले जीवनयात्रा, पारिवारिक, सामाजिक र नैतिक उत्तरदायित्वसँग जोड्दै अगाडि बढ्न सफल हुनेहरूलाई प्रेरणा दिन यस्तो कार्यक्रम सुरु गरिएको बताइन् ।
‘ढुकुर जोडी’ सम्मान १२ दम्पतीहरु :
सुन्दरहरैँचा–१ ः केशवराज काफ्ले र कञ्चन दाहाल
सुन्दरहरैँचा–२ ः सचिदानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई
सुन्दरहरैँचा–३ ः ध्रुव निरौला र अनु दाहाल
सुन्दरहरैँचा–४ ः डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल
सुन्दरहरैँचा–५ ः वीरेन्द्र कुमार कट्टेल र सीतादेवी कट्टेल
सुन्दरहरैँचा–६ ः बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे
सुन्दरहरैँचा–७ ः बलिराम चौधरी र फूलोदेवी चौधरी
सुन्दरहरैँचा–८ ः खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने
सुन्दरहरैँचा–९ ः योगराज कार्की र हिमकुमारी कार्की
सुन्दरहरैँचा–१० ः बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल
सुन्दरहरैँचा–११ ः वेदकुमार खवास र केसओती खवास
सुन्दरहरैँचा–१२ ः अमरबहादुर मगर र तारा कुमारी मगर