सुनसरी । बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट हटाएको विषयमा विरोध जनाउँदै धरानका राजनितिक दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

सरकारको बीमा बोर्डले बी.पी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट रेफरल सेन्टरको रुपमा राखेको छ । साउन १ गते देखी यो निर्णय लागु हुने गरी सरकारले प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट हटाएको छ । 

सोही विरोधमा आज (आइतबार) दलका प्रतिनिधिहरूले संयुक्त रुपमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मी मार्फत गृहमन्त्री समक्ष पुग्ने गरी ध्यानाकर्षण पत्र बुझाएका हुन । 

उक्त ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख रेग्मीले पत्र लिँदै तत्कालै गृह मन्त्रालयमा पठाउने बताए । 

 नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बू, जसपा नेपालका ताजुब लिम्बू, नेकपा एसका रेवतीरमण राई र धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष मनोज भट्टराई लगायतले संयुक्त रुपमा पत्र बुझाएका  हुन । 

राजनितिक दलहरुले निर्णयको पुर्नविचार गरी निर्णय सच्याउन माग गरेका छन् । स्थानीय स्तरमा प्रतिष्ठानको सेवाबाट ठुलो सङ्ख्यामा जनता लाभान्वित हुँदै आएका कारण यस निर्णय सच्याउनुपर्ने उनीहरुको माग छ ।।