विराटनगर । मारवाडी युवा मञ्च, विराटनगरले समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सांस्कृतिक चेतनालाई समेट्दै सप्ताहव्यापी सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मञ्चका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा तथा युवा सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।

IMG-20250713-WA0101
कार्यक्रमको पहिलो दिन पूर्वाञ्चल बाल सेवा आश्रममा खाद्यान्न वितरण तथा भोजन सेवा कार्यक्रम सम्पन्न भयो। युवा मञ्चले करिब रु ३५ हजार बराबरको सेवा प्रदान गर्दै बालबालिकासँग समय बिताएको थियो।
दोस्रो दिन “गो ग्रिन” नारासहितको कार र्‍यालीपछि थलाहा ब्यारेकस्थित शिवदल गणमा  १०१ प्रजातिका बिरुवा रोपण गरिएको थियो। कार्यक्रममा कर्णेल अरुण गिरीको विशेष उपस्थिति थियो।
तेस्रो दिन, शिक्षा सदन माविमा ६ थान पङ्खा र शैक्षिक सामग्री वितरण गरिएको थियो भने एसइई उत्तीर्ण ४ छात्रालाई प्रमाणपत्रसहित  ११ हजारको आर्थिक सहयोग प्रदान गरिएको थियो।
चौथो दिन, नयाँ कार्यसमितिको शपथग्रहण समारोह सम्पन्न भयो। यसै अवसरमा एक लाखको छात्रवृत्ति कोष घोषणा गरिएको छ। साथै नेत्र दान, रक्तदान, वृक्षारोपण लगायत रचनात्मक कार्यक्रमहरू गर्ने योजना सार्वजनिक गरिएको अध्यक्ष लालवानीले बताए। समाजसेवामा योगदान पुर्‍याउने राकेश बंशल,  शङ्कर खरेल  तथा ८ वर्षीय पोडकास्टर बालिका नमाया दुगडलाई विशेष सम्मान प्रदान गरिएको थियो।IMG-20250713-WA0103
पाँचौँ दिन, १०४ वर्षीय वयोवृद्ध दुलारी देवी अग्रवालको उपस्थितिमा मानव सेवा आश्रममा भोजन तथा  दस हजारको सहयोग प्रदान गरिएको छ।
छैटौँ दिन, परमार्थ सिंघिया आरती सेवा कार्यक्रममा सहभागी भई वृक्षारोपण गरिएको थियो। साथै आरती सेवा समितिलाई व्यवस्थापनका लागि  ११ हजारको सहयोग प्रदान गरियो।IMG-20250713-WA0100
सातौँ तथा अन्तिम दिन ‘आमाको माया छात्रावास’का बालबालिकाहरूलाई लक्षित गरी योग शिविर सञ्चालन गरियो। समापन कार्यक्रम अन्तर्गत कृष्ण गौशालामा गौ सेवा,  ५ हजार१०० सहयोग तथा प्रथम कार्यसमितिको बैठकसमेत सम्पन्न भएको उनले बताए।
यस सप्ताहव्यापी कार्यक्रममार्फत मञ्चले सामाजिक, शैक्षिक, सांस्कृतिक र पर्यावरणीय सन्देश प्रवाह गरेको छ।