विराटनगर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का खेमराज पोखरेल सर्वोच्च अदालतको मिति २०८०कात्तिक१९ को फैसलाले  जबरजस्ती करणी र हाडनाता करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएर फरार रहेका थिए । त्यस्तै  उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७२ असार  १६ को फैसलाबाट जबरजस्ती करणी तथा चोरी मुद्दामा १० वर्ष कैद सजाय पाएर फरार रहेका मेचीनगर नगरपालिका ८ का प्रदीप राईलाई झापा प्रहरीले पक्राउ गरी कैद असुल गर्न कारागार चलान गरेको छ।  बिर्तामोड नगरपालिका वडा नम्बर ८ का अमिर विश्वकर्माले राजश्व चुहावट गरेको उच्च अदालतले फैसला गर्‍यो । २०८० फागुन ९ गते उच्च अदालत पाटनको फैसलाले विश्वकर्मालाई १ वर्ष २ महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवानाको फैसला पछि फरार रहेका थिए । उनलाई समेत चालु आर्थिक वर्षमा नै कैद तथा जरिवाना भुक्तानीकालागि जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यी त जिल्ला प्रहरी कार्यालय झापाले असुल गरेको ठुला परिमाणको अपराधमा संलग्न रहेका व्यक्ति र जरिवाना । प्रहरीले आर्थिक वर्ष २०८१।०८२ मा  फैसला कार्यान्वयन अभियान अन्तर्गत झापा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट मुद्दामा फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरी अदालत समक्ष उपस्थित गराएको प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।  पक्राउ परेका व्यक्तिहरूमध्ये पुरुष ४६३ जना, महिला ७० जना र यौनिक अल्पसङ्ख्यक १ जना रहेका छन् । अदालतको आदेश अनुसार कैद भुक्तान बाँकी रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कारागार कार्यालय झापा पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीहरूबाट जरिवाना असुल गरी लगत कट्टा गरिएको प्रहरी उपरीक्षक लिम्बुले बताए ।  प्रहरीका अनुसार, यो अभियानबाट कुल २४८ वर्ष १० महिना १४ दिन कैद र  ७ करोड २७ लाख २४ हजार ८ सय २१ रुपैयाँ ६६ पैसा जरिवाना असुल गरिएको छ ।