काठमाण्डौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको १० औँं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । राजधानी रियादमा आयोजित महाधिवेशनमा उमेश भट्टराइको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।
२ बर्षे कार्यकाल(२०२५ देखी २०२७)का लागि नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरी, विष्णु प्रसाद भण्डारी, अर्जुन थापा, मनिष कोइराला रहेका छन् भने महासचिव शुक्र लामा रहेका छन् । यस्तै कोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।
महाधिवेशनमा बोल्दै साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले नेपाली श्रमिकको उद्दार, आपत्कालीन सहायताको समन्वय, राहदानी तथा कागजी प्रक्रिया सहज बनाउने कार्यमा संघसँग मिलेर काम गर्न दूतावास तत्पर रहेको बताएका छन् ।
उनले गैरआवासीय नेपाली संघ साउदी अरेबियाले नेपाली समुदायका लागि गर्दै आएको भन्दै प्रशंसा गरेका छन् । प्रवासी नेपालीको समस्या बुझ्ने र समाधान गर्न संघ र दूतावास बीच समन्व्यलाई थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिए ।
नवनिर्वाचित अध्यक्ष उमेश भट्टराइले जिम्मेवारीलाई अवसर र चुनौती दुबैका रूपमा स्वीकार गर्दै समावेशी नेतृत्व र प्रभावकारी काम गर्ने संकल्प गरे । उनले प्रवासी नेपालीको हकहितमा संवेदनशील, पारदर्शी र परिणाममुखी काम गर्ने प्रतिबद्धता जानाए ।
साउदीको कडा गर्मी र श्रमजीवी जीवनबाट थकित प्रवासी नेपालीहरूका लागि महाधिवेशनमा सांगितक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
साउदी अरेबियामा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको गैरआवासीय नेपाली संघ साउदी अरेबियाले जनाएको छ ।

















