इटहरी । विद्यालयका विद्यार्थीहरुलाई बिपी कोइरालाको विचार बुझाउन नेपाली काँग्रेसले सनुसरी जिल्लाभर हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
४३ औँ बिपी स्मृति दिवसको अवसरमा प्रजातन्त्र स्थापनामा बिपीले गरेको संघर्ष,योगदान र उनको विचार बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेसका जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए ।
आउँदै गरेको नयाँ पुस्तामा बिपीका विचार र प्रजातन्त्रको महत्व बुझाउन एकै प्रकृतिको कार्यक्रम गरिएको उनले स्पष्ट पारे ।
सुनसरीका १२ वटै पालिका स्तरमा हाजिरिजवाफ कार्यक्रम आयोजना गरिएको सभापति भण्डारीले जानकारी दिए । सुनसरीका १२ मध्ये १० वटा पालिका हाजिरीजवाफ सम्पन्न भएको छ भने देवानगञ्ज र धरानले वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको उनले बताए ।
यता, इटहरीमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा आँपगाछीको राष्ट्रिय मावि प्रथम भएको छ । यस्तै विश्व आदर्श स्कुल दोस्रो र एडु टेक कलेज इटहरी तेस्रो भएको नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका सचिव विक्रम घिमिरेले जानकारी दिए ।
विजेता विद्यालयहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको सचिव घिमिरे जानकारी दिए । प्रतियोगितामा इटहरी भरिका १९ विद्यालयहरुले सहभागिता जनाएका थिए ।