सुनसरी । पूर्वाञ्चल विश्वविद्यालयमा मातृ तथा शिशु उपचारको लागि सुविधा सम्पन्न एमसीएच भवनको शिलान्यास गरिएको छ ।
मेडिकल कलेज सञ्चालनको लागि अस्पतालको सेवा बिस्तारलाई तीव्रता दिएको बिश्वबिद्यालयले ४५ करोडको लगानीमा मातृ तथा शिशु उपचार भवनको निर्माण सुरु गरेको हो ।
उक्त भवनको शुक्रवार बिहान कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिलान्यास गरेका हुन ।
विश्वविद्यालय परिसर गोठगाउमा शिलान्यास गरिएको तीन तले भवनको पहिलो तल्ला अगामी २०८३ साल मङ्सिर महिनामा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिने बिश्वबिद्यालयका उपकुलपति बिजुकुमार थपलियाले जानकारी दिए । पहिलो चरणको उक्त कामको लागि विराटनगरको खुश्बु निर्माण सेवा प्रालिले १२ करोड ४ लाख ८५ हजार रुपैयाँमा ठेक्का पाएको थपलियाले जानकारी दिए । उक्त भान निर्माणसँगै यसै शैक्षिक सत्र देखी बिश्वबिद्यालयमा मेडिकल शिक्षाको पठनपाठन सुरु गरिने थपलियाले बताए ।
स्थापनाको १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको अनुमति पाएको बिश्वबिद्यालयले आफ्नै परिसरमा रहेको अस्पताललाई बिस्तार गरेको चिकित्सा संकायका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिए ।
चिकित्सा शिक्षाको पठनपाठनको लागि बिश्वबिद्यालयले ३ बर्सअघि आफ्नै पाठ्यक्रम तयार पारिसकेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय एमबिबिएस विषय समितिले दुई वर्ष लगाएर तयार पारेको पाठ्यक्रम बिश्वबिद्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
बिश्वबिद्यालयमा आगामी साता चिकित्सा शिक्षा सेवा आयोगको टोलीले अनुगमन गरेपछि यसै शैक्षिक सत्र देखी पठनपाठन सुरु हुने बिश्वबिद्यालयले जनाएको छ ।