सुनसरी । नेपाली साहित्यमा ऐतिहासिक आख्यानमार्फत छुट्टै पहिचान बनाएका पोखरेली लेखक तीर्थ गुरुङलाई सम्मान गरिएको छ ।
सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश समितिको आयोजनामा शनिबार इटहरीमा ‘हिउँको गीत’ माथीको विमर्श कार्यक्रममा लेखक गुरुङलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दुबोको माला र सम्मान पत्र प्रदान गरे ।
उपन्यास ‘हिउँको गीत’ माथी विमर्श गर्दै कृतीको बारेमा समिक्षा गरिएको थियो ।
कवि मनु मन्जिल, अस्मिता विष्ट र जेबी थुलुङले कृतिको भाषा, शिल्प र विषयवस्तुमा आधारित रहेर कृतीको समीक्षा गरे ।
कार्यक्रमका वक्ताहरुले ‘हिउँको गीत’ लाई साहित्यिक दृष्टिकोणले एक गहन ऐतिहासिक दस्तावेजको भएको बताए ।
कवि मनु मन्जिलले कृतिलाई २०८१ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका सात कृतिहरूमध्ये उत्कृष्ट ठहर गर्दै यसलाई पुरस्कार दिनुपर्ने बताए ।
‘हिउँको गीत’मा आदिवासी तमु समुदायको प्राचीन राज्य ‘क्होला सोँथार’को उदयदेखि पतनसम्मको कथा समेटिएको छ ।
यो उपन्यास पाठकलाई झन्डै ७ सय वर्षअघिको सामाजिक–राजनीतिक जीवनतर्फ लैजान्छ, जसले इतिहास, संस्कृति र समुदायको यथार्थ जीवन गहिरो रूपमा उतारेको समीक्षकहरूले बताए ।
तमुह्युल छोंज धी केन्द्रिय वरिष्ठ उपाध्यक्षले ‘हिउँको गीत’ले तमु समुदायको गौरव वृद्धि गरेको टिप्पणी गर्दै स्रष्टालाई थप सफलताको शुभकामना दिए ।
कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरका साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम मिश्रामाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।