विराटनगर । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका खोटाङका मेयर तीर्थराज भट्टराईले  कपाल मुन्डन गरी  माइतीघरमा सत्याग्रह सुरु गरेका छन् ।

बाँसबाट बनेका सामानहरूको प्रयोग गर्न नीतिगत व्यवस्था गर्न माग राख्दै मेयर भट्टराईले आजबाट सत्याग्रह सुरु गरेका हुन् ।  भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक९पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेकाले सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन्  

सिंहदरबारको दक्षिण गेट अगाडि केश मुन्डन  गर्ने भनी पुगेका पुगेका थिए । उनलाई निषेधित क्षेत्र प्रहरीले नियन्त्रण लिएर माइतीघरमा छाडी दिएको हो । माइतीघरमा पुगेपछि उनले  सत्याग्रह सुरु गरेका छन्  । 

बाँस लगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने नगरपालिकाले राखेको सात सूत्रीय माग नेपाल सरकारले सम्बोधन नगरेपछि बाध्य भएर आफू सत्याग्रहमा बसेको भट्टराईले बताए । 

“बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई उपयोगमा ल्याउन गत जेठ–२३ गते र असार–६ गते प्रधानमन्त्री केपी ओलीलाई पत्राचार गरेका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उनले भने े, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्छ । यसमा सरकार उदासीन देखिएपछि तीन दिन सत्याग्रह सुरु गरेको छु । सत्याग्रह बस्दा पनि हामीले राखेका माग पूरा नभए आमरण अनसन बस्ने तयारी गरेको छु ।”

बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको नगर प्रमुख भट्टराईका सचिवालय सदस्य चिरञ्जीवी खतिवडाले बताए । भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर साउन–४ गते काठमाडौँ गएका थिए । 

काठमाडौँमा रहेको अवसर पारेर नगर प्रमुख भट्टराईले आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरूलाई बाँसका कुर्सी र टेबल उपहार दिन थालेका थिए ।

भट्टराईले साउन–३ गते पत्रकार सम्मेलन गरेर बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको सुनिश्चितताका लागि सत्याग्रहको घोषणा गरेका थिए ।