विराटनगर । प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।

मोरङ विराटनगरका सुजन ढकाल र  बेलबारीका मनोज न्यौपानेको शव सोमबार बिहान नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले कुण्डबाट निकालेको हो ।

शवहरू आवश्यक प्रक्रिया पश्चात नेपाल प्रहरीलाई जिम्मा लगाउने सेनाको तयारी रहेको छ ।  दुवै युवाहरु आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य थालेको थियो ।

 ती युवकहरू गहिरो ठाउँमा स्नानका लागि पसे पछि डुबेको हुन सक्ने बताइएको छ । 

चार हजार ३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड ताल करिब १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

  यो स्थान हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थलको रूपमा चिनिन्छ।