सुनसरी । खडेरीका कारण किसानले खेती गर्न नपाएको भन्दै कोसी प्रदेश सभा सदस्यहरूले सङ्कट समाधान गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

सोमवार बसेको प्रदेश सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले सङ्कट समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् । प्रदेश सभा सदस्य राजन किराँतीले खेतमा विद्युत् व्यवस्था गरी सिँचाइको व्यवस्था मिलाउन माग गर्नुभयो ।

खडेरी सङ्कटको पूर्व तयारी नगरेको भन्दै किराँतीले किसानलाई सहयोग गर्ने काम थाल्न सरकारसँग माग गर्नुभयो । धेरै किसान भएको झापा, मोरङ र सुनसरी जिल्लामा खडेरीका कारण किसानले रोपाई गर्न नपाएको भन्दै अर्का प्रदेश सभा सदस्य रामदेव यादवले विद्युत् र सिँचाइको विशेष व्यवस्था गर्न माग गर्नुभयो ।

सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरको पानीमा पालो प्रणालीका कारण किसानले खेती गर्न नपाएको राम प्रसाद मेहताले बताउनु भयो ।

मन्त्रीका विषयमा भ्रष्ट्राचारको कुरा उठेपछि पनि छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा सरकार मूकदर्शक बनेको अर्का प्रदेश सभा सदस्य गणेश प्रसाद उप्रेतीले आरोप लगाउनु भयो ।