सुनसरी । धरान खेलकुद मञ्चले धरान स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत विभिन्न सात विधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । मञ्चले मङ्गलवार पत्रकार सम्मेलन गरी उत्कृष्ट धरान वर्ष खेलाडी सहितको विभिन्न सात बिधाको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।
मञ्चका सल्लाहकार एवंम टेबल टेनिस प्रशिक्षक राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार एवंम कराँते प्रशिक्षक दीपेश शाक्य र मञ्चका सदस्य सचिव एवंम शारीरिक सुगठनका प्रशिक्षक विक्रम लिम्बु सदस्य रहेको ३ सदस्यीय छनौट समितिले मनोनयन गरेका खेलाडी तथा प्रशिक्षकहरूको नाम सार्वजनिक गरिएको अध्यक्ष किशोर राईले जानकारी दिए ।
यस संस्करणको उत्कृष्ट धरान वर्ष खेलाडी पुरुषको लागि साहिल राई, निगम राई, अवतार श्रेष्ठ, नीरज तामाङ र सिद्धान्त सापकोटा मनोनयनमा परेका छन् । साहिल र निगम सितेरियो करातेका खेलाडी हुन् भने अवतार शारीरिक सुगठनका खेलाडी हुन् ।
नीरज र सिद्धान्त गल्फ खेलाडी हुन । महिलातर्फ वर्षा राई, र सलिना जोगी मनोनयनमा परेका छन् । उनीहरू दुवै जना सितेरियो कराँते खेलाडी हुन् । १५ वर्ष मुनिका बाल खेलाडीहरूलाई प्रोत्साहित गर्न प्रदान गरिने द राईजिङ स्टार विधामा सुलेखा ठाकुर, गौतम तामाङ र श्रेया सुवेदी मनोनयनमा परेका छन् । तीनै जना टेवलटेनिस खेलाडीहरू हुन् ।
उत्कृष्ट प्रशिक्षक अवार्डको लागि किरण लामा, गीता थापा र श्याम तामाङ मनोनयनमा परेका छन् । किरण करातेका प्रशिक्षक हुन् भने गीता टेवलटेनिस र श्याम साइक्लिङ प्रशिक्षक हुन् ।
मनोनयनमा परेका मध्येबाट एक–एक जनालाई नगद सहित आगामी शनिवार एक कार्यक्रम मार्फत उत्कृष्ट धरान वर्ष खेलाडी, उत्कृष्ट प्रशिक्षक र राइजिङस्टार अवार्ड दिइनेछ ।
यस्तै एक जना उत्कृष्ट खेल पत्रकारलाई समेत एवार्ड दिइने आयोजकले जनाएको छ । खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मञ्चले प्रत्येक वर्ष ‘स्पोर्टस अवार्ड’ प्रदान गर्दै आएको छ ।