सुनसरी । चौथो अन्तर विद्यालय इनडोर क्रिकेट लिग २०८२ यही आउँदो साउन २० गतेदेखि सुरु हुने भएको छ। आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा इटहरीमा हुने प्रतियोगितामा कोसी प्रदेशका करिब ३२ विद्यालयहरूको सहभागिता रहने छ।

यस लिगको उद्देश्य सुनसरी जिल्लामा ग्रास रुट क्रिकेटको विकास गर्नुका साथै अफ सिजनमा खेलाडीहरूलाई इनडोर खेलमार्फत सक्रिय राख्नु रहेको आयोजकले बताएका छन्। उनीहरूका अनुसार, युवा पुस्तालाई खेलप्रति प्रेरित गर्नु र अभ्यासको निरन्तरता कायम गर्नु प्रतियोगिताको मुख्य ध्येय हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई इटहरीमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको आइडियल स्पोर्ट्स एकेडेमीमा व्यावसायिक प्रशिक्षकहरूको मार्गदर्शनमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

त्यसैगरी, व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सुनसरी जिल्लाकै पहिलो क्रिकेट स्टोरहरूमध्ये एक “आइडियल स्पोर्ट्स” बाट क्रिकेट किट तथा खेल सामग्री पुरस्कार स्वरूप प्रदान गरिनेछ।