सुनसरी । करातेका शाहिल राईले उत्कृष्ट धरान वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
धरान खेलकुद मञ्चले शनिबार आयोजना गरेको धरान स्पोर्ट्स अवार्ड-२०८२ अन्तर्गत राईसँगै करातेका निगम तिम्सिना र शारीरिक सुगठनका अवतार राई मनोनयनमा परेका थिए । करातेकै वर्षा राईले उत्कृष्ट धरान महिला वर्ष खेलाडीको अवार्ड हात पारेकी छन् ।
महिलातर्फ राईसँगै सितेरियो करातेकी सलिना जोगी मनोनयनमा परेकी थिइन् ।
उत्कृष्ट दुवै जनाले जनही नगद ३० हजारसहित अवार्ड हात पारे । उत्कृष्ट वर्ष प्रशिक्षक अवार्ड करातेका किरण लामाले हात पारेका छन् । उनीसँगै टेबलटेनिस प्रशिक्षक गीता थापा र साइक्लिङका श्याम तामाङ मनोनयनमा परेका थिए । लामाले नगद २० हजारसहित अवार्ड पाएका छन् ।
१५ वर्ष मुनिका बाल खेलाडीहरुलाई प्रोत्साहित गर्न प्रदान गरिने द राईजिङ प्लेयर अवार्ड ब्याडमिन्टनकी सुलेखाकुमारी ठाकुरले जितेकी छन् । उनीसँगै ब्याडमिन्टनकै गौतम तामाङ र श्रेया सुवेदी मनोनयनमा परेका थिए । मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड फुटबलका मनोज राईले पाएका छन् ।
लिजेन्ट अफद इयरको उपाधि करातेका प्रशिक्षक दिपेश शाक्यले हात पारे । ब्लाष्ट टाईम्सका भोजराज श्रेष्ठले उत्कृष्ट खेल पत्रकारको अवार्ड हात पारेका छन् । उनीहरुले जनही नगद १५ हजार र अवार्ड पाए ।
कार्यक्रममा पारा ओलम्पिकमा पदक जित्ने धराने खेलाडी विवेक राईलाई नगद १० हजारसहित बिक्रम राई स्मृति अवार्डबाट पुरस्कृत गरिएको छ ।
खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मञ्चले प्रत्येक वर्ष ‘स्पोर्ट्स अवार्ड’ प्रदान गर्दै आएको अध्यक्ष किशोर राईले जानकारी दिए ।