सुनसरी । सुनसरी प्रशासनले नेपाल-भारत सीमा नाकाबाट हुने चोरी तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दैनिक अनुगमन सुरू गरेको छ ।
नाकाबाट अबैध गतिविधि बढेको गुनासोपछि दैनिक अनुगमन गरी निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो । ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको सुनसरीमा दुई वटा सीमा गुल्म र ९ वटा बीओपी छन् ।
जहाँ २ सय ५० जना सुरक्षाकर्मी खटिएका छन । पर्याप्त जनशक्तिको अभावमा पनि भन्सार चोरी निकासी पैठारी र आपराधिक क्रियाकलाप शून्य सहनशीलताको नीति अवलम्बन गरिएको प्रशासनको दाबी छ ।
सीमा क्षेत्रमा एउटा आउट पोष्टबाट अर्को आउट पोष्टको दूरी साढे ६ किलोमिटर टाढा पर्ने भएकाले सुरक्षामा चुनौती थपिएको सुनसरीका सशस्त्र प्रहरी प्रमुख एसपी निर्मलकुमार थापाले बताउनुभयो ।
तीनवटा छोटी भन्सार, एक मुख्य भन्सार रहेको सुनसरीमा ती स्थान पनि टाढा-टाढा क्षेत्रमा पर्ने भएकाले चोरी तस्करी नियन्त्रणमा कठिनाइ छ।