खोटाङ  हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिरहा तर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माईक्रोबस मध्य पहाडी लोक मार्ग अन्तरगत जयराम–हलेसी सडक खण्डको कदुवास्थित डौँठे खोला नजिकै आज (सोमबार) बिहान करिब नौ बजे दुर्घटना भएको हो ।

दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माईक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।

दुर्घटनाका घाइतेमध्ये छ जनालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताउनुभएको छ ।

घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

दुर्घटनाग्रस्त माईक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटना स्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभएको छ ।

दुर्घटनाग्रस्त माईक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।