सुनसरी । लामो समय देखी तलब नपाएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूले फार्मेसी सेवा ठप्प पारेका छन् ।
उनीहरूको आन्दोलनको कारण दुई दिनयता प्रतिष्ठानको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।
विगत ७ महिना देखी पाउनुपर्ने तलब र सेवा सुविधाहरू नपाएको भन्दै फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगी सहित २२ जना कर्मचारीहरू धर्नामा छन् ।
जसले गर्दा अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बिमा अन्तर्गतको औषधीहरू नपाउँदा बिरामीहरू मारमा परेका हुन् ।
चौबिसै घण्टा सेवा उपलब्ध हुनुपर्ने फार्मेसीबाट सेवा नपाउँदा बिरामीका आफन्तजनहरू बाहिरको पसलबाट महँगो शुल्क तिरेर औषधी किन्न बाध्य भएको आफन्तको उपचारका लागि प्रतिष्ठान पुगेका इटहरीका सौरभ श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानको फार्मेसीमा औषधी व्यवस्थापनको जिम्मा केटिएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ । त्यहाँ कार्यरत कर्मचारीहरू केटिएम सेक्युरिटी मार्फत भर्ना भएका हुन् ।
उनीहरूलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै भए पनि तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एक कर्मचारीले बताइन ।
यसैबिच प्रतिष्ठानले फार्मेसी सेवा अवरुद्ध हुनु गैर कानुनी भएको दाबी गर्दै आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैर कानुनी कार्य गरेको जनाएको छ ।
प्रतिष्ठान जस्तो संवेदनशील क्षेत्रको सेवा एकाएक बन्द गर्नु प्रचलित कानुनको उल्लङ्घन भएको सह प्रवक्ता डा. अभिजित कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. २०७० सालमा तीन वर्षका लागि सम्झौता गरिएको सो कम्पनीसँग हालसम्म सेवा निरन्तरता दिइँदै आएको तर, कुनै पूर्व जानकारी नदिई फार्मेसी सेवा बन्द गरिएको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ ।
फार्मेसीमा कार्यरत जनशक्तिको लापरबाहीका कारण संस्थाको छवि धूमिल भएको भन्दै प्रतिष्ठानले चिन्ता व्यक्त गरेको छ ।
सम्झौताका सर्तअनुसार आपूर्ति गरिएका कर्मचारीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेमा कम्पनीले तत्काल नयाँ व्यवस्था गर्नुपर्ने भए पनि केटीएमले त्यसो नगरेको प्रतिष्ठानले जनाएको छ ।