सुनसरी । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीको गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उपचारकै क्रममा उनको ‌ मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको जनाइएको छ ।