सुनसरी । झापा गाउँपालिका–१ लसुनामा ६० वर्षीय जतन सोरेन मृत फेला परेका छन्। हत्या आरोपमा प्रहरीले उनका छोरा अनतलाल सोरेनसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आज (साउन २१ गते) बिहान करिब ४ बजे सोरेन घरनजिकैको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएका हुन्।
गएराति करिब १०: ३० बजे मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडुको घर नजिक पुगेका सोरेनलाई महादेव टुडु, उनका परिवारका सदस्य लुखिराम टुडु, लखिराम टुडु र सोरेनका छोरा अनतलालले मिलेर बाँधेका थिए।
उनीहरूका अनुसार मृतकले दैनिकजसो मदिरा सेवनपछि स्थानीयलाई दु :ख दिने गरेकाले बाँधिएको बताइएको छ।
इलाका प्रहरी कार्यालय (कुमरखोद) बाट खटिएको टोलीले छोरा २७ वर्षीय अनतलाल सोरेनसहित ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ। यसबारे थप अनुसन्धानका लागि झापा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ।