सुनसरी । गएरातीको वर्षासँगै आएको पहिरोले धरानमा एक घरमा क्षति भएको छ । १२ घर उच्च जोखिममा परेका छन्।

 बिहीबार राति खसेको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गका स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुगेको छ ।

भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो। बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।”


स्थानीय कौशल श्रेष्ठले वर्षा शुरू भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए। धरान–३ का वडासदस्य मिंमा भोटेका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन्। वडा कार्यालयले हाल क्षतिको विवरण संकलन गरिरहेको छ। वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माण गरेर रोकथामको प्रयास गर्ने उनको भनाइ छ। 


गत वर्ष धरान–३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो। त्यसबेला वडाबाट ५ लाख र नगरपालिकाबाट १४ लाख रुपैयाँ बजेट विनियोजन गरेर पहिरो रोकथाम गरिएको थियो।