विराटनगर । धनकुटामा बोलेरो दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–८ टेकुनालास्थित भित्री ग्राभेल सडक खण्डमा बोलेरो पिकअप दुर्घटना भएको हो । आइतबार बिहान करिब १०ः३५ बजे टेकुनालाबाट धनकुटातर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये चार जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। रेफर गरिएका घाइतेहरूमा धनकुटा नगरपालिका–८ की ४५ वर्षीय रेनुका राई, धनकुटा नगरपालिका–७ का ३८ वर्षीय जितबहादुर राई, धनकुटा नगरपालिका–८ का ९० वर्षीय हर्कलाल राई र धनकुटा नगरपालिका–७ का ६२ वर्षीय गुणराज श्रेष्ठ रहेका छन्।
बाकी १७ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। अस्पतालमा उपचाररत घाइतेहरूमा चतुरलाल डङ्गोल, रोनिता श्रेष्ठ, रिमा डङ्गोल, राजन राई, निशु लिम्बु, राम श्रेष्ठ, मोहन डङ्गोल, सविना डङ्गोल र रिमा डङ्गोल (दुई जनाको नाम समान) रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ।