मोरङ — हुलाकी राजमार्गको मोरङ खण्डमा पर्ने हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर सडक निर्माण लामो समयदेखि ठप्प रहेपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन्।
आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद पराजुलीले दुई वर्षअघि पनि यसै सडकका लागि आन्दोलन र अनशन गरेको स्मरण गरे। पटक–पटक सहमति भए पनि सडक बन्न सकेको छैन। अहिले पनि अवस्था उस्तै छ,उनले भने, यो बाटो हिँड्न साइकल, रिक्सा, मोटरसाइकल चलाउनेको निकै दुःख छ।
उनले ठेकेदारको शक्ति सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए। सम्झौता उल्लङ्घन गर्ने ठेकेदारलाई कालो सूचीमा राखी नयाँ प्रक्रिया अघि बढाउनुपर्ने बताए। ूसंघको जिम्मेवारी भन्दै प्रदेश सरकार पन्छिन मिल्दैन। बलियो खुट्टा बनाएर अघि बढ्नुपर्छ, उनले जोड दिए।
२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्ट्रक्सन कम्पनीलाई ७७ करोड रुपैयाँमा ठेक्का दिइएको यस सडकको दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना थियो। तर हालसम्म जम्मा २२ प्रतिशत मात्र प्रगति भएको छ। बर्खामा हिलो र घाममा धुलोका कारण बाटो प्रयोग गर्नै नसकिने अवस्था छ।
निर्माणको क्रममा साइड ड्रेन, बिजुली पोल सार्ने काम अझै बाँकी छ। सुरुमा पेटी ठेकेदार भूपाल श्रेष्ठले काम थाले पनि पछि छाडेर हाल अभिषेक गिरीले जिम्मा लिएका छन् तर गति आएको छैन। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार यो सडकको म्याद फेरि थप्ने तयारी भइरहेको छ।