विराटनगर। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको विकास र जनजीवनको उन्नतिका लागि राजनीतिक दलहरूबीच आर्थिक सबलीकरणलाई प्राथमिकता दिँदै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले मंगलवार विराटनगरमा आयोजना गरेको १६औँ स्मृति सभा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले “समृद्ध नेपाल” को लक्ष्य पूरा गर्न सबै दलको ध्यान आर्थिक शक्तिकरणतर्फ केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे।

ज्ञवालीले नेपाल विकासमा पछि नपरेको दाबी गर्दै ७७ जिल्लामा सडक सञ्जालको विस्तार, ९७ प्रतिशत विद्युत् तथा खानेपानीको पहुँच, र ९९ प्रतिशत बालबालिकाको विद्यालयमा पहुँच भएको तथ्यांक प्रस्तुत गरे। यस्तै विकासक्रम जारी रहे नेपालले लक्ष्य राखेकाे अबधिमा नेपाल विकसित राष्ट्र बन्ने सम्भावना बलियो रहेको बताए।

पूर्वमन्त्री समेत रहेका उनले मधेश प्रदेशमा खेतीका लागि आकासे वर्षामाथि निर्भरता अन्त्य गर्न सुनकोशी डाइभर्सन निर्माण पूरा भएपछि १ लाख ८२ हजार बिघा जमिनमा सिंचाइ सुविधा पुग्ने दाबी गरे।

विराटनगर महानगर प्रमुख नागेश कोइरालाले सङ्घीयता कार्यान्वयनपछि मुलुकले विकासमा ठूलो फड्को मारेको उल्लेख गरे।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, उद्योगी चेतन निरौला, एमाले नेता विनोद ढकाल, नेपाल उद्योग संगठन मोरङ अध्यक्ष नन्द किशोर राठीलगायतका वक्ताहरूले स्व. कृष्णप्रसाद सिग्देलको संघर्षपूर्ण जीवनयात्रा र व्यवसायिक सफलतालाई प्रेरणादायी उदाहरणका रूपमा स्मरण गर्दै उनको योगदानबाट सिक्नुपर्नेमा जोड दिए।

सो अवसरमा २१ हजार रुपैयाँसहित नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गरियो। साथै, नेपाल साना तथा घरेलु उद्योग संघ मोरङका चेतन निरौला, महिला उद्यमी अम्बिता भण्डारी, जनता उच्च मावि मधुवन (सुनसरी) का विद्यार्थी पिंकी खत्वे, सुशील खत्वे र स्वस्तिका ट्रान्सपोर्ट प्रालिका मजदुरहरूलाई कपडा तथा नगदसहित सम्मान प्रदान गरिएकाे छ ।