सुनसरी । इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख द्ववारिकलाल चौधरीले नगरप्रमुख हेमकर्ण पौडेलले समयमै बजेट नल्याएर नगरवासीको भविष्य माथि खेलबाड गरेको आरोप लगाएका छन् ।
चौधरीले वर्तमान नगरप्रमुख सहितका जनप्रतिनिधि अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आफू अनुकूल बजेट पास हुन नसकेपछि नगरपालिकालाई बजेट विहीनताको अवस्थामा पुर्याएको दाबी गरे ।
इटहरीका केही पूर्व जनप्रतिनिधि, नागरिक समाज र प्राज्ञिक तथा बौद्धिक बर्गलाई सहभागिता गराएर बुधवार पत्रकार सम्मेलन मार्फत चौधरीले नगरप्रमुख हेमकर्ण पौडेलको असक्षमताले नगरपालिका डुब्न लागेको बताए ।
नगरप्रमुख पौडेल सहितका जनप्रतिनिधिले नगरवासी प्रति जिम्मेवार नभएको बताउँदै चौधरीले उपमहानगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको आरोप लगाए ।
इटहरी उपमहानगरपालिका अपारदर्शी रूपले चलेको बताउँदै जनप्रतिनिधिहरू सार्वजनिक सुनुवाइ नगरी प्रश्नबाट भागेको दाबी गरे ।
इटहरीमा यसअघिनै सुरुवात भएका योजनाहरूलाई अलपत्र पारेर वर्तमान जनप्रतिनिधि विभिन्न महत्वकांक्षी योजना र खरिद मोहमा लिप्त भएको चौधरीको आरोप छ ।
तत्कालीन प्रदेश सरकारले समेटेको इटहरीको दीर्घकालीन बाढी नियन्त्रणका लागि बाहिरी चक्रपथ ४२ किलोमिटर रेखाङ्कन भएको योजना कार्यान्वयन नभएकोमा उनले ध्यानाकर्षण भएको जनाएका छन् ।
टेङ्ग्रा खोला डाइभर्सन गर्ने योजना अलपत्र परेको र इलाका प्रहरी कार्यालय इटहरीको भवन निर्माणको सम्बन्धमा नगरपालिका उदासीन रहेको चौधरीले बताए ।
२५ शैयाको इटहरी अस्पताल १०० शैयामा स्तरोन्नति हुन नसकेको बताउँदै चौधरीले गरिब तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच बढाउन इन्जिनियरिङ तथा मेडिकल तर्फको पढाइमा उपमहानगरपालिकाले बेवास्ता गरेको बताए ।
सार्वजनिक सम्पत्तिको संरक्षण र जनहितमा उपयोग गर्नका लागि बषौदेखि अनधिकृत ढङ्गले व्यक्ति तथा सङ्घसंस्थाले हडपेको जग्गा स्थानीय सरकारले संरक्षण तथा उपयोग गर्न उपमहानगर चुकेको चौधरीले बताए ।
आफ्नो कार्यकालमा अगाडि बढाइएको इटहरी गौरवका आयोजनाहरू मध्येको जनता पार्क, बहु जातीय संग्रालय र मोटरएबल पुल अलपत्र परेको चौधरीले बताए ।