विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश प्रमुख परशुराम खापुङसँग भेटवार्ता गरेका छन्  । हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी भएर मलेसिया भ्रमण सम्पन्न गरी फर्किएका प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

भेटका क्रममा मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच मलेसिया भ्रमणका अनुभव, प्रवासमा रहेका नेपाली समुदायको स्थिति, त्यहाँका सामाजिक–सांस्कृतिक गतिविधि तथा प्रवासी नेपालीसँगको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।

त्यसैगरी, दुवै उच्च पदाधिकारीबीच कोशी प्रदेश सरकारको सञ्चालन, विकास योजनाहरूको कार्यान्वयन, हालैका राजनीतिक–प्रशासनिक गतिविधि तथा प्रदेशसभामा चलिरहेका विषयहरूबारे समेत विचार–विमर्श गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

भेटवार्तामा प्रदेशको शान्ति–सुरक्षा, प्रशासनिक समन्वय र प्रदेश सरकारका प्राथमिकताबारे पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच  छलफल भएको जनाइएको छ।