सुनसरी । आगामी आइतबार विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी सकिएको छ ।

पूर्वकै सांस्कृतिक महत्त्व बोकेको राधाकृष्ण रथयात्रा कृष्ण जन्माष्टमीको भोली पल्ट निकालिन्छ ।

रथको सिँगार बाहेक व्यवस्थित र मर्यादित रूपमा रथयात्रा सम्पन्न गर्न गठन भएका १७ वटै उपसमितिले आफ्नो जिम्मेवारीको काम सम्पन्न गरिसकेका छन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा हेर्न पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी लगायत भारतको बिहारबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

रथयात्रा हेर्न पाँच लाख भक्तजन विराटनगर आउने आयोजकहरूले बताएका छन् । श्री राधाकृष्ण रथयात्रा तानेमा र तान्न नसके छोए पनि पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

रथयात्रालाई भव्य बनाउन २०८० सालदेखि प्रदेश सरकारले रथयात्राको दिन कोसी प्रदेशभर सार्वजनिक बिदा दिन थालेको छ ।

२०७६, ७७, ७८ र ७९ सालमा भने प्रदेश सरकारले झापा, मोरङ र सुनसरीमा मात्र सार्वजनिक बिदा दिएको गरेको थियो ।

२१ फिट तीन इन्च उचाइ, १४ फिट चौडाइ र १९ फिट लम्बाई भएको रथमा श्री राधाकृष्ण भगवानलाई राखेर तिन पैनी स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ गरिन्छ ।

विक्रम संवत् १९८८ सालदेखि भगवान् राधाकृष्णलाई खटमा राखेर विराटनगर परिक्रमा गर्न सुरु गरिएको थियो ।

विक्रम संवत् २०२४ सालदेखि खट यात्रालाई रथयात्रामा परिणत गरिएको हो ।