सुनसरी । इटहरीका मेयर हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भइरहँदा संघीय संसदमा समेत आवाज उठेको छ ।

पछिल्लो समय आलोचित बन्दै आएका मेयर पौडेलको कार्यशैलीको विषयमा विरोध जनाउँदै संघीय सांसद भगवती चौधरीले सदनमा आवाज उठाएकी हुन । 

विहिबार संघीय संसदको बैठकमा बोल्दै सुनसरी क्षेत्र नम्बर ३ की सांसद चौधरीले मेयर पौडेलको कार्यशैली र अभिव्यक्ति लोकतन्त्र माथीको प्रहार भएको बताइन् । उनले लोकतन्त्रको रक्षा गर्न सदन र सरकारलाई ध्यानाकर्षण समेत गराइन् । 

मेयर पौडेलले गत असार २० गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमा इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने मनसायले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै सांसद भगवती चौधरीले टिप्पणी गरेकी हुन् ।

उपमहानगरमा हुने गरेको बिकृती बिसङगती बिरुद्ध प्रश्न गर्ने र आलोचना गर्नेलाई मेयर पौडेलले प्रहरी लगाएर थुन्ने काम भएको सांसद चौधरीको भनाइ छ ।

मेयर पौडेलको अभिव्यक्ति बिरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन मार्फत लोकतन्त्रको पक्षमा आवाज उठाइरहेको बेलामा एक्लो महसुस गरेको उनले बताएकी हुन् । मेयर पौडेलको नाम नलिई शून्य समयमा बोल्दै चौधरीले इटहरीमा भएका घटनाहरू उल्लेख गरेर संसद् र सरकारको ध्यानाकर्षण गराएकी छन् । 

गत असार २० गते नगरप्रमुख पौडेलले ‘समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न प्रकाशन÷प्रसारण हुने गरेको’ अभिव्यक्ति दिएका थिए । 

उनको सो अभिव्यक्तिले पत्रकारको मात्र नभएर इटहरीकै बेइज्जत भएको महासंघले ठहर गरेको छ । 

यसअघि इटहरी वडा नम्बर २ निवासी ताजिना विष्टले टिकटकमा भिडियो पोस्ट गरे भन्दै मेयर पौडेलले प्रहरीको दबावमा इलाका प्रहरी कार्यालयमा लिखित माफी गर्न लगाएर छाडिएको थियो । 

विष्टले मेयर पौडेललाई पिपल चौक पूर्वको खाल्डाखुल्डी देखाउदै बाटो किन बनेन भन्दै प्रश्न गरेकी थिईन् । सोही विषयमा पौडेलको सचिवालयले दिएको उजुरीको आधारमा प्रहरीले लिखित माफी मगाएर छाडेको थियो ।।